गृहमन्त्री बस्नेतद्वारा आत्मआलोचना, गल्ती नदोहोर्‍याउने प्रतिबद्धता

Shakti-basnet

काठमाडौँ- गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको नाममा असम्बन्धित व्यक्तिलाई चीन भ्रमण गराएको विषयमा आत्मआलोचना गर्नुभएको छ ।

एकीकृत नेकपा (माओवादी)को पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा गृहमन्त्री बस्नेतले भूकम्पपीडितका नाममा असम्बन्धित व्यक्तिलाई चीन पठाएको विषयमा लिखित रुपमा आत्मआलोचना गर्दै र आगामी दिनमा त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठक सुरु हुनेबित्तिकै अध्यक्ष पुष्पकमल दाहालले लिखित रुपमा आत्मआलोचना गर्न वा राजीनामा दिन मन्त्री बस्नेतलाई निर्देशन दिनुभएको थियो ।

गृहमन्त्री बस्नेतले आफ्नो ध्येय र जोड भूकम्प प्रभावित १४ जिल्लाका नागरिक, तल्लास्तरका पार्टी कार्यकर्ता नै चीन भ्रमणमा जाउन भन्ने रहेको उल्लेख गर्दै नहुनुपर्ने गल्ती भइसकेको बताउनुभएको थियो । भूकम्पपीडितको कोटामा एमाओवादी अध्यक्ष दाहालका नातिनी र गृहमन्त्री बस्नेतका छोरी र भतिजीलगायत नजिकका आफन्त चीन भ्रमणमा पठाइएको थियो ।