चिनियाँ सहयोग चारसय प्रतिशतले वृद्धि

चीनले नेपाललाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको सहायता रकममा चार सय तेत्तीस प्रतिशतले वृद्धि गरेको छ । नेपालको सामाजिक एवम् आर्थिक विकासमा सघाउन उक्त मुलुकले प्रदान गर्दै आएको १५ करोड चिनियाँ युआनलाई ८० करोड पु¥याउने घोषणा गरेको हो ।  नेपाल र चीनबीच आज यहाँ सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय वार्तामा चीनले अनुदानस्वरुप वार्षिक ८० करोड आरएमबी उपलब्ध गराउने सहमति जनाउनाका साथै नेपालको चौतर्फी विकासका लागि नौ क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
वार्तामा नेपाल र चीनका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय संयन्त्रलाई सक्रिय तुल्याउन पनि सहमति जनाउनुभएको छ । आपसी हित र चासोका विविध विषयमा सहकार्य गर्न दुई वर्षअघि स्थापित परराष्ट्रमन्त्रीस्तरीय उक्त संयन्त्रलाई सशक्त एवम् प्रभावकारी बनाउन दुवै देशका परराष्ट्रमन्त्री सहमत हुनुभएको हो ।
चीनले व्यापार, लगानी, पूर्वाधार, कृषि, पर्यटन, विज्ञान तथा प्रविधि, ऊर्जा, क्षमता अभिवृद्धि र सुरक्षा तथा कानुन कार्यान्वयनमा नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस निम्ति द्विपक्षीय, क्षेत्रीय र सहयोगसम्बन्धी परियोजना विकास गरेर अघि बढ्ने जनाएको छ । वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीले सन् २०२२ सम्ममा अल्पविकसित मुलुकबाट विकासशील देशमा स्तरोन्नति हुन नेपालले निर्धारण गरेको लक्ष्य प्राप्तिका लागि “हामी जस्तोसुकै सहयोग उपलब्ध गराउन तत्पर छौ,” भन्नुभयो ।
नेपालको राष्ट्रिय विकास सुनिश्चित गर्न चीनको सहयोग अपरिहार्य भएको बताउँदै उहाँले जलविद्युत् आयोजना निर्माण तथा विद्युत् उत्पादनमा सघाउने चीनको चाहना अभिव्यक्त गर्नुभयो ।  जलविद्युत् विकास एवम् उत्पादनमा चीनको अनुभव, उच्च प्रविधियुक्त उपकरण, प्राविधिक ज्ञान र सीप नेपालको ऊर्जा उत्पादनका क्षेत्रमा अति उपयोगी हुने विचार व्यक्त गर्दै चिनियाँ विदेशमन्त्रीले आपसी लाभका धेरै क्षेत्रमा दुई मुलुकबीच सहयोग एवम् सहकार्य अभिवृद्धि गर्न सकिने बताउनुभयो ।
“विद्युत् उत्पादन र ऊर्जाको उपलब्धताबाटै कलकारखाना सञ्चालन भई रोजगारीका अवसर सिर्जना हुन्छन् जसले अल्पविकसित नेपालको विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य पूरा गर्नाका साथै आर्थिक गतिविधि विस्तारमा सघाउँछ,”– विद्युत् अभावले आक्रान्त नेपाललाई सघाउने सूत्र सुनाउँदै उहाँले भन्नुभयो । चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औंँ वर्ष आगामी वर्ष प्रारम्भ हुने सन्दर्भमा उहाँले दुई देशबीचको विस्तृत सहकार्यात्मक सम्बन्धलाई अझ चिरस्थायी एवम् आपसी लाभमा केन्द्रित गर्न चीन उत्सुक रहेको बताउनुभयो ।
पारस्परिक सहयोग विस्तार तथा उच्चस्तरीय भ्रमण आदानप्रदानलगायत दौत्य सम्बन्ध स्थापनाको ६० औंँ वार्षिकोत्सवसम्बन्धी कार्यक्रम एवम् योजना आफ्ना समकक्षीसमक्ष प्रस्तुत गरिएको जानकारी दिँदै उहाँले नेपालको अपेक्षाअनुरुप सहयोगका अन्य क्षेत्र पनि पहिल्याउन सकिने विचार व्यक्त गर्नुभयो ।
नेपालको चौतर्फी उन्नयनका निम्ति सहकार्य गर्न पहिचान गरिएका नौ क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बत, त्यहाँको सरकार, स्थानीय कूटनीतिक नियोग र राष्ट्रिय तहबाट पनि सहयोग गरिने जानकारी दिँदै चिनियाँ विदेशमन्त्रीले नेपालको मानव संसाधन विकास, सीप एवम् प्राविधिक ज्ञानयुक्त जनशक्ति निर्माणमा सुदृढ सहायता उपलब्ध गराइने बताउनुभयो ।
“दुवै मुलुकका सरकार र जनताबीचको सद्भाव एवम् सहकार्यबाट आपसी हित प्रवद्र्धनमा योगदान पुग्छ,”– द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा चीन र नेपालबीच जारी सहकार्यलाई अझ घनीभूत तुल्याउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो ।
एक पृथक प्रसङ्गमा उहाँले पछिल्ला दिनमा चीन र भारतसँगको सम्बन्ध सकारात्मक ढङ्गले अघि बढिरहेको तथा त्यो थप मजबुत एवम् घनीभूत हुँदै गएको बताउँदै चीन–भारत रणनीतिक, सहयोगात्मक  र सहकार्ययुक्त सम्बन्धले भविष्यमा नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभयो । एक अर्को प्रश्नको जवाफमा चिनियाँ विदेशमन्त्रीले नेपाल र भारतबीचको सम्बन्ध सुदृढ एवम् सबल बन्दै गएकामा प्रसन्नता प्रकट गर्दै चीन, भारत र नेपालबीचको त्रिपक्षीय सम्बन्धको महत्व अधिक रहेको बताउनुभयो । चीन र भारतले हासिल गरेको आर्थिक समृद्धिबाट सक्दो लाभ लिनेतर्फ नेपाल लाग्नुपर्ने सुझाव दिँदै उहाँले चीन र भारतका निम्ति नेपाल एउटा सक्षम सेतु बन्नसक्ने तर्क गर्नुभयो । “तीन वटै  मुलुक मित्र हुन्, भारत र चीन मात्र होइन दक्षिण एसियाका लागि नेपाल सेतु बन्न सक्छ,”– त्रिपक्षीय सहयोगको महत्व दर्साउँदै मन्त्री वाङले भन्नुभयो । चीन, नेपाल र भारतबीचको सहकार्यले क्षेत्रीय शान्ति र स्थायित्वमा योगदान पुग्ने उहाँको कथन थियो । चीन–नेपाल सम्बन्धलाई हिमालजस्तै अटल भन्दै उहाँले त्यो भविष्यमा पनि अझ अटुट रहने विश्वास व्यक्त गर्नुभयो ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सौहार्दपूर्ण वातावरणमा भएको वार्तामा पारस्परिक हितका साथै सहयोगका थप क्षेत्र पहिल्याउनेबारे छलफल भएको जानकारी दिनुभयो । वार्ता फलदायी रहेको बताउँदै उहाँले राजनीतिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायत नेपाल–चीन सम्बन्धका सबै विधामा विचारविमर्श भएको जानकारी दिनुभयो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सक्रिय पर्यवेक्षक चीनलाई अझ सशक्त एवम् सक्रिय तुल्याउने सम्बन्धमा पनि छलफल भएको मन्त्री पाण्डेले बताउनुभयो ।