सिड्नी। फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन (फेन्का) मा आबद्ध विभिन्न संघसंस्थाको आयोजनामा अन्तर्राष्ट्रिय एभरेष्ट डे तथा बाल चित्रकला प्रतियोगिता एवं प्रदर्शनी ३० मे शनिबार न्यु साउथ वेल्सस्थित काबारिटा पार्कमा भव्य रूपमा सम्पन्न भएको छ। 
“पग्लँदैछ हिउँ, बढ्दैछ हाम्रो जिम्मेवारी” भन्ने नारासहित आयोजित कार्यक्रममा प्रभातफेरी, बाल चित्रकला प्रतियोगिता, सांस्कृतिक प्रस्तुति तथा नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू समावेश गरिएको थियो। कार्यक्रमको सुरुवात प्रभातफेरीबाट गरिएको थियो भने गोर्खा समाज अष्ट्रेलियाले प्रस्तुत गरेको लाखे नाच विशेष आकर्षणको केन्द्र बनेको थियो।
फेन्काका न्यु साउथ वेल्स संयोजक मुक्तिराम पोखरेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए। उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको महत्व, जलवायु परिवर्तनका असर तथा नेपालको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय एभरेष्ट डे मनाइएको बताएका थिए। कार्यक्रम सञ्चालन फेन्काका सचिव डा. प्रकाश पौडेलले गरेका थिए।
कार्यक्रममा न्यु साउथ वेल्स सरकारका बहुसांस्कृतिक मामिलासम्बन्धी मन्त्रीका प्रतिनिधि जेसन लीले नेपाली समुदायले अष्ट्रेलियाबाट नेपालको पहिचान प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताएका थिए। उनले नेपाली समुदायका यस्ता गतिविधिमा आफ्नो साथ र सहयोग रहने धारणा राखेका थिए।विशेष अतिथिका रूपमा उपस्थित संघीय सांसद झी सुन तथा राज्य सांसद नाथन हेगर्टीले नेपालको पर्यटन क्षेत्रको सम्भावना र सगरमाथाको अन्तर्राष्ट्रिय महत्वबारे चर्चा गरेका थिए। उनीहरूले नेपाल र नेपाली समुदायसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
फेन्काका अध्यक्ष डा. मधु पुडासैनीले सगरमाथा नेपालको मात्र नभई विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षणका लागि विश्व समुदायको ध्यान आवश्यक रहेको बताएका थिए। विदेशमा रहेका नेपालीहरूले नेपालको पर्यटन, कला, संस्कृति र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो।कार्यक्रम अन्तर्गत आयोजित बाल चित्रकला प्रतियोगितामा ४८ जना बालबालिकाको सहभागिता रहेको थियो। प्रतियोगितामा सीमोल सिर्पाली प्रथम, सायना पाण्डे द्वितीय, आयन घिमिरे तृतीय तथा आइशा सापकोटा चौथो भएका थिए। विजयी बालबालिकाहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा सगरमाथा, हिमाली वातावरण, प्राकृतिक सम्पदा तथा वातावरण संरक्षणसँग सम्बन्धित चित्रहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रममा नेपाली तथा अष्ट्रेलियन झण्डासहित सहभागीहरूले नेपालको प्राकृतिक सम्पदा संरक्षण, जलवायु परिवर्तनप्रति सचेतना तथा पर्यटन प्रवर्द्धनको सन्देश दिएका थिए। नेपाली मौलिक पोशाकमा सहभागीहरूको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पदाधिकारी, विभिन्न सामुदायिक संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवी, पत्रकार, युवा तथा बालबालिका लगायत नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रमले प्रवासमा रहेका नेपालीबीच एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको छ।कार्यक्रम सफल बनाउन विभिन्न व्यवसायिक संस्थाहरूले सहयोग गरेका थिए। आयोजकले सहयोग गर्ने सम्पूर्ण संघसंस्था, प्रायोजक, स्वयंसेवक तथा सहभागीहरूप्रति आभार व्यक्त गरेका छन्।






