सिड्नी । नेपालीहरुको महत्वपूर्ण पर्व वडादशैँ तथा दिपावलीको अवसरमा हालै सार्वजनिक भएको गीत “सम्झना गाउँघरको”ले छोटो समयमै दर्शक एवम् श्रोताको मन जित्न सफल भएको छ । चाडपर्वहरु नजिकिँदै गर्दा भित्रिएका थुप्रै गीतहरुको माझमा यस गीतले दर्शकहरुको ध्यान तानेको छ । वरिष्ठ गीतकार रमेश वि.सी.को रचना रहेको गीतमा गायक अमृत बरालले लय भरेका छन् । गीतमा पछिल्लो समयकी भाईरल गायिका रञ्जिता विश्वकर्मा र गायक अमृत बरालले स्वर दिएका छन् ।
धन कमाउने सपना बोकेर देश छोडेर विदेशिएका लाखौँ नेपालीहरुको चाडवाडको समयमा उत्पन्न हुने मनोभावलाई गीतले प्रस्तुत गरेको छ । दिपक कार्की युटुब च्यानल मार्फत बजारमा आएको गीतको संगीत संयोजक महेश विक्रम पाण्डेले गरेका छन् । अस्ट्रेलियाका विभिन्न सहर र नेपालका समेत विभिन्न स्थानमा गीतको म्यूजिक भिडियोको छायांकन गरिएको हो ।म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी मदन खड्काले गरेका हुन् भने गुराँस ढकाल र मोडल देबेन्द्र बब्लुको अभिनय रहेको छ। लण्डन नेपाल न्यूजसंग कुराकानी गर्दै गायक अमृत बरालले आफ्नो टिमले गीतमा सवैपक्षलाई उत्तिकै समेटेर मेहनत गरेको भन्दै दर्शकहरुको माया पाउनेमा आशा व्यक्त गरे । सार्वजनिक भएको छोटो समयमै गीतले युटुब लगायतका सामाजिक सञ्जालहरुमा चर्चा पाएको छ ।







