सिड्नी। फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन (फेन्का) मा आबद्ध विभिन्न सामाजिक संघ–संस्थाहरूको संयुक्त आयोजनामा आगामी मे ३० मा अन्तर्राष्ट्रिय एभरेष्ट डे तथा वाल चित्रकला प्रतियोगिता एवं प्रदर्शनी २०२६ आयोजना गरिने भएको छ। कार्यक्रम न्यु साउथ वेल्सस्थित नेपालका लागि वाणिज्य दूतावास तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) राज्य समन्वय परिषद् न्यु साउथ वेल्सको सहकार्यमा सम्पन्न हुने जनाइएको छ।
फेन्काका अध्यक्ष डा. मधु पुडासैनीका अनुसार विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने तथा नेपालको प्राकृतिक सौन्दर्य र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट डे मनाउन लागिएको हो। “पग्लँदै छ हिउँ, बढ्दैछ हाम्रो जिम्मेवारी” भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा नेपाली कला, संस्कृति झल्कने विविध प्रस्तुति समावेश गरिनेछ।
फेन्काका उपाध्यक्ष तथा कार्यक्रमका मूल संयोजक कपिल पाण्डेले अष्ट्रेलियाका आठै राज्यमा एकै दिन विभिन्न संघ–संस्थाको सहकार्यमा कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन्। न्यु साउथ वेल्सका स्टेट कोअर्डिनेटर मुक्तिराम पोखरेलका अनुसार सिड्नीको फाइभ डकमा बिहान ९:३० बजेदेखि कार्यक्रम सुरु हुनेछ।
कार्यक्रममा नेपाली भेषभूषा, सांस्कृतिक प्रस्तुति, वाल चित्रकला प्रतियोगिता तथा प्रदर्शनी लगायतका गतिविधिहरू समावेश गरिनेछन्। अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले नेपालको पर्यटन, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर योगदान पुर्याउँदै आएको सन्दर्भमा यस कार्यक्रमले थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सफल बनाउन विभिन्न व्यवसायिक संस्थाहरूले साझेदारी गरेका छन्। आयोजकका अनुसार धुर्सन कन्स्ट्रक्सन, इन्फिनिटी होम्स न्यु साउथ वेल्स, बेस्ट ग्रीन सोलार, कुञ्चा हेयर एन्ड ब्यूटी आर्ट, क्यापकन, एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेस, ल्याण्ड एन्ड लिज रियल्टी, प्रोपर्टी कनेक्ट, डिजी स्कुल, सिड्नी मेट्रोपोलिटन अन्तर्राष्ट्रिय कलेज, दाहाल एन्ड कम्पनी लेखा तथा कर एजेन्ट तथा सेज होम लोन लगायतका संस्थाहरूले सहयोग गरेका छन्।






