सिड्नी। अष्ट्रेलियामा सक्रिय नेपाली सञ्चार माध्यम नेपाल न्युज अष्ट्रेलियाले ‘मिडिया टक’ कार्यक्रमसहित आफ्नो १२औँ वार्षिकोत्सव सिड्नीमा सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ पारेर आयोजित उक्त कार्यक्रम शनिबार सिड्नीको रातो घरमा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली समुदायका अग्रणी व्यक्तित्व, पत्रकार, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि न्यु साउथ वेल्सका लागि नेपालका अवैतनिक वाणिज्यदूत सञ्जीव शर्माले प्रवासमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा सञ्चार माध्यमको भूमिकाको प्रशंसा गरेका थिए। उनले नेपाल न्युज अष्ट्रेलियाले विगत १२ वर्षदेखि समुदायलाई सूचना र पहिचानसँग जोड्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा पूर्व महावाणिज्यदूत दीपक खड्काले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताको महत्वबारे चर्चा गर्दै ‘मिडिया टक’ जस्तो कार्यक्रमको सान्दर्भिकता औंल्याएका थिए। नेपाल न्युज अष्ट्रेलियाका प्रधान सम्पादक माधव गैरेले संस्थाको यात्रालाई स्मरण गर्दै समुदायको साथ र विश्वासले नै आजको उपलब्धि सम्भव भएको बताएका थिए। सम्पादक तथा अष्ट्रेलियन नेपाली जर्नालिस्ट एसोसिएसन (एन्जा) का अध्यक्ष कृष्ण तिवारीले संस्थाको सुरुवाती दिनदेखि आजसम्मको यात्राबारे चर्चा गर्दै यसलाई समुदायको भरोसायोग्य सञ्चार माध्यमका रूपमा स्थापित भएको बताए।
त्यसैगरी एनआरएनए ग्लोबल उपाध्यक्ष दिनेश पोखरेल, समाजसेवी तथा कानुनविद् डा. शमशेर सिंह थापा, व्यवसायी ज्ञानेन्द्र कार्की, समाजसेवी विष्णु हमाल लगायतका वक्ताहरूले प्रवासमा नेपाली समुदायलाई जोड्न सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। पूर्व प्रकाशक प्रदीप ढकाल र डिल्ली ढकालले पनि संस्थाको निरन्तरता र विश्वसनीयताबारे आफ्ना अनुभव साझा गरेका थिए।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन नेपाल न्युज अष्ट्रेलियाका म्यानेजिङ एडिटर हेमन्त काफ्लेले गरेका थिए। सो अवसरमा विभिन्न नेपाली व्यवसायी तथा सञ्चारकर्मीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।






