तक्दीर अधिकारी, सिड्नी ।
गैरआवासीय नेपाली संघको आयोजनामा ओसनिया क्षेत्रीय कार्यसमितिको क्षेत्रीय भेला र ज्ञान सम्मेलन शनिवार बाट शुरु भएको छ । कोरोना भाइरस महामारीको कारण भौतिक रुपमै उपस्थित भएर कार्यक्रम आयोजना गर्न सम्भव नभएको कारण दुइ दिनको कार्यक्रम अनलाइन जुम मार्फत शुरु भएको हो। आजको पहिलो दिनको कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीको प्रमुख आतिथ्यता रहेको थियो भने पूर्व अध्यक्षमन्त्री, सासंद तथा नेपाली काँग्रेसका नेता राम शरण महत, सांसद टोप बहादुर रायमाझीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै परराष्टमन्त्री नेपालका १५ प्रतिशत भन्दा बढी शारीरिक तथा मानसिक दुवै हिसाबले पूर्ण स्वस्थ्य नागरिकहरु विदेशमा रहेको बताए । सरकारले नेपाली डायस्पोरालाइ महत्वपुर्ण रुपमा लिने गरेको भन्दै उनले गैर आवासीय नेपालीहरुको भुमिकालाइ संविधानले नै व्यवस्था गरेको बताए । “नेपाली एनआरएलहरुलाइ नेपाली नागरिक सरह नै संविधानले व्यवस्था गरेको छ,” उनले भने, “संसदमा विचाराधिन नागरिकता ऐन तथा गैरआवासीय नेपाली नया विधेयकमा पनि कानुनी प्रबन्धहरु अन्तिम चरणमा पुगेको छन्” । उनले विशेष गरी विदेशमा रहेका नेपालीहरुबाट सरकारले ४ कुराहरुको अपेक्षा गरेको बताए । 
“पहिलो तपाइहरु नेपाललाइ संसारसामु पुर्याउने चिनाउने आँखी झ्याल जस्तै हो” उनले भने, “ दोस्रो आफ्नो गन्तब्य देश र आफ्नो मातृदेशको सम्बन्ध जोड्ने पुलको रुपमा तपाइहरुले काम गर्ने अपेक्षा देशले राखेको छ” । त्यसैगरी तेस्रो तथा महत्वपूर्ण अपेक्षाको विदेशमा सिकेको ज्ञान, सीप र साधन स्रोतहरु लाई नेपालको बिकासमा प्रयोग गर्ने र चौथो भनेको नेपाली भाषा, संस्कृति र पम्पराहरुकोे रक्षा गर्नु भएको बताए ।
नेपाल लोमा समय सामान्तवाद, आन्तरिक द्वन्द्वको कारणले जसरी बिकास हुनुुपथ्यो, त्यसरी हुन नसकेको, संरचनाहरु विकास हुन नपाएको भन्दै उनले २१ औँ शताव्दिमा विदेशमा भएको विकास नेपालमा ल्याउने कुरामा एनआरएनहरुसँग अपेक्षा गरेको उनले बताए ।
“संसार अहिले २१ औँ शताब्दिमा जहाँ पुगेको छ, त्यो मात्रामा नेपाल पछि परेको छ” उनले भने, “ त्यो अभाव नेपाली डास्पोराले पुरा गर्न सकोस, यो नलेज कन्फरेन्स पनि यो कुरामा सफल रहोस्” । उनले यस अघि भएकोे ज्ञान सम्मेलनलाइ पनि सरकार भरपुर मात्रामा उपयोग गरिरहेको बताए । विशेष गरी हालको महामारीको समयमा कोभिड १९ ले पुर्याएको स्वास्थ्य र अर्थतन्त्रको दुुरावस्थालाइ सहित दिशमा ल्याउन अहिलेको ज्ञान सम्मेलनले विशेष भुमिका खेल्नुपर्ने बताए । उनले हाल नेपाल सरकारले देश विकास गर्नको निम्ती कृषिको प्रविधिकरण, नेपालको जलविद्युत क्षेत्र, पर्यटन र प्रविधिबाट हामीलाइ मुख्य रुपमा अघि सारेको भन्दै उल्लेखित क्षेत्रमा ज्ञान विदेशमा पाएको ज्ञान उपयोग गर्न आग्रह गरे ।
त्यसैगरी विशेष अतिथिको भुमिकामा बोल्दै पुर्व अध्यक्ष मन्त्री समेत रहेका नेपाली काँग्रेसका सांसद रामशरण महतले राष्ट्रियता भन्ने कुरा कुनै पनि भौगोलिक सीमाभित्र मात्र सीमित नहुने बताउँदै विश्वको जुनसुकै ठाँउमा रहेपनि राष्ट्रियता रहिरहने बताए । देश विकासको निम्ती नेपाली डायस्पोराकोे महत्वपूर्ण भुमिका हुने भन्दै उनले यस अघि आफुले अर्थमन्त्रीको रुपमा जिम्मेवारी लिएको समयमा विदेशमा रहेका नेपालीकोे निम्ती लगानी गर्न विशेष ब्यबस्था गरेकोे सुनाए । दोस्रो विश्व युद्ध पछिको सबैभन्दा ठुलो संकट अहिलेको महामारी भएको भन्दै उनले नेपालले व्यहोेरेको क्षति निराकरणमा एनआरएनको भुमिका हुनुपर्ने सुनाए ।
“नेपालमा उद्योग, कलकारखाना, शिक्षा, यातायात लगायतको क्षेत्र निकै प्रभावित भइ हजारौ नेपाली रोजगार विहिन भएका छन” उनले भने, “यसको रिकभरीको निकै ठुलो चुनौती छ, मलाइ विश्वास छ यो ज्ञान सम्मलेनले त्यो चुनौतीको सामना गर्न धेरै सुझावहरु दिनुुहुनेछ” ।
नेपालका पूर्व उपप्रधानमन्त्री तथा संघीय सांसद टोप वहादुर रायमाझीले नेपालमा बस्ती छरिएर रहेको कारण महामारी बढी असरपूर्ण हुन नपाएको भन्दै उनले देश विदेशमा रहेका सबै नेपालीहरु एकजुट भएर यस महामारीको क्षती निराकरणमा लाग्नुपर्ने बताए ।
उनले नेपाल लामो समय सम्म विभिन्न आन्तरिक द्वन्द्वको कारण पछाडि परेको भन्दै उनले अहिले भएको राजनैतिक परिवर्तन सँगै अबको यात्रा विकास र समृद्धिको बाटो तर्फ भइरहेकोे बताए । सयौ बर्षसम्म हुन नसकेका विकासका कामहरु अब केही बर्षमै गर्न सकिने उनको भनाई छ ।
समृद्धिको निम्ती पूर्वाधार विकास र आर्थिक विकास महत्वपूर्ण भएको भन्दै विदेशमा रहेका नेपालीहरुको सीप प्रयोग गर्न सकेको खण्डमा देश बिकास गर्न कठिनाइ नहुने बताए । जसको लागि एक मास्टरप्लान बनाएर काम गर्नुपर्ने उनले बताए । अब नेपालको गरिबी हटाउने र रोजगारी सिर्जना गर्नको निम्ती काम गर्नुपर्ने भन्दै उनले त्यसको लागि नेपालका मात्र नभएर विदेशमा रहेका जनशक्ति समेत प्रयोग गर्नुुपर्ने बताए ।
अष्ट्रेलियाका मन्त्री जोडी माकेइले बोल्दै नेपालीहरुले ब्यक्तिगत रुपमा मात्र नभएर विभिन्न संघसंस्थाहरुले अष्ट्रेलियामा निकै ठुलो भुमिका निभाएको बताइन् ।
यस महामारीको समयमा अष्ट्रेलियामा आएका नेपाली विद्यार्थीहरुलाइ परेको समस्यामा यहाँको सरकारले पनि साथ दिएको भन्दै महामारीको समयमा एनआरएनएले ठुलो काम गरेको उनको भनाइ छ ।
न्युजिल्याण्डका सांसद माइकल उड, अष्ट्रेलियाका संघीय सांसद मेलिसा मेकिन्तोषले पनि एनआरएन तथा ज्ञान सम्मेलनको सफलताको शुभकामना दिए । 
त्यसैगरी अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले संसारको जहाँ रहेपनि हामीसँग भएको ज्ञानलाइ कसरी नेपालमा प्रयोग गर्न सक्छौ भन्ने विषयमा यी कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । यस कार्यक्रमबाट महत्वपुर्ण विषयबस्तुहरु सम्प्रेषण गरि अघि बढ्न आग्रह गर्दै उनले यसले भोलिको दिनमा देश विकासमा महत्वपूर्ण योगदान दिने बताए । एनआरएनले गरेको कामको प्रशंसा गर्दै उनले राजदूतावासको तर्फबाट हरेक किसीमको सहयोग हुने बताए ।
एनआरएनए आइसिसि अध्यक्ष कुमार पन्तले हालसम्म आफुुहरुले विदेशमा बटुलेको पुँजी तथा ज्ञान सीपलाइ देशमा उपयोग गरिहेको र नेपालीहरुले पठाएकोे रेमिटान्सले जिडिपीमा महत्वपूर्ण भुमिका खेलेको बताए । उनले अबको दिनमा नेपालीहरुले गन्तब्य देशमा बटुलेको ज्ञानले प्रयोग गरेमा देश समृद्ध हुने विश्वास ब्यक्त गरे । अब एनआरएनले विदेशको प्रविधिलाइ नेपाल लैजाने कुरामा विगत २ बर्षदेखी काम गरिरहेको बताए ।
त्यसैगरी पूर्वअध्यक्ष तथा आइसिसीका प्रमुख संरक्षक शेष घलेले पनि एनआरएनएले देश विकासको निम्ती हालसम्म धेरै भुमिका निभाएको भन्दै आउने दिनमा पनि यसैखालका कार्यक्रम अझै प्रभावकारी बनाउने बताए ।
एनआरएनए ओसनीया क्षेत्रीय संयोजक होम पाण्डेयले आफुहरुले परिवर्तन चाहने र यो परिवर्तन आफैबाट शुरु गर्न जरुरी रहेको बताए । परिवर्तनको सुरुवातको रुपमा यो ज्ञान सम्मेलन रहने भन्दै उनले नेपालमा लैजान सकिने परियोजनाहरुको विषयमा कार्यक्रममा छलफल हुने बताए । 
पुर्व उपाध्यक्ष इन्द्रा बनको स्वागत मन्तब्य रहेको कार्यक्रमको पहिलो चरणको कार्यक्रमको सञ्चालन उपसंयोजक नविन कंडेलले गरेका थिए भने दोस्रो चरणको सञ्चालन एनआरएनए क्षेत्रीय महिला संयोजक जानकी रिजाल पौडेलले गरेकी थिइन् ।
कार्यक्रमको बारेमा जानकारी गराउँदै पौडेलले उक्त अवसरमा महिला तथा युवाका सन्दर्भहरुको वषयमा विशेष छलफल भएकोे जानकारी दिइन् । त्यसैगरी एनसिसि अष्ट्रेलियाको रिपोर्टिङ्ग गर्दै आजसम्म भएका काम, आगामी दिनमा गर्न पुर्ने काम लगायतको विषयमा समिक्षा तथा कोभिड १९ ले निम्त्याएको अवसर, समस्या तथा चुनौती र आइसिसिको नया कार्ययोजनाको विषयमा पनि छलफल भएको उनको भनाइ छ । अहिले विश्वमा भइरहेका जल्दाबल्दो मुद्धाहरुमा एनआरएनलाइ कसरी सक्रिय बनाउने भन्ने विषयमा ब्यापक छलफल गरिएको छ । 
१३ गते हुने नलेज कन्भेन्सनमा अष्ट्रेलिया, न्युजिल्याण्डमा नेपालीहरुले सिकेका ज्ञान तथा सीपहरुलाइ नेपालमा कसरी प्रयोग गर्ने भन्ने बारेमा नेपालका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली काँग्रेसका नेता तथाज पुर्व सञ्चारमन्त्री मिनेन्द्र रिजाल, राष्ट्रबैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ लगायतको प्रस्तुती रहने भएको छ ।
यो कार्यक्रम यसअघि जुन महिनामा गर्ने तयारी गरिएको तर महामारीको कारण कार्यक्रम प्रभावित भएकोे कारण अनलाइनबाटै सभा गरिएको छ। गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान सीप प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने सम्बन्धमा समय सापेक्ष नीतिगत पहलका लागि प्रयास गर्दै आएको छ । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरेको थियो । यसलाई निरन्तरता दिदै दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन आयोजना गर्दै छ ।
भिडियो हेरौ
https://www.facebook.com/londonnepalnews/videos/998842907245919






