गुल्मीमा जन्मियो अनौँठो बच्चा,हेर्न समेत डराउँछन् मान्छेहरु

गुल्मी । गुल्मीमा अनौठो बच्चा जन्मिएको छ । जिल्लाको ईस्मा गाउँपालिका-३ तोरिपाटा गोडखोलाका राज कुमार नेपालीकी श्रीमती गोमा नेपालीले आँखा नभएको, औँला नछुटिएको, तथा शरिरमा रातो छाला भएको अचम्मको छोरीलाई जन्म दिएकी हुन् ।

नेपालीले शनिवार घरमै उक्त शिशुलाई जन्म दिएकी हुन् । अनौठो बच्चा जन्मिएपछि यतिबेला गाउँले र छरछिमेकी समेत अचम्ममा परेका छन् । चौँथो सन्तानको रुपमा जन्मिएकी शिशुको तौल लिईएको छैन ।

गर्भवती भएको ८ महिना पुरा हुँदै गर्दा गोमाले छोरीलाई जन्म दिएकी हुन् । यस अगाडी गोमाका ३ सन्तान छन् । उनीहरु भने सबै सपागं नै छन् ।

गुल्मी अस्पतालका निमिक्त मे.सु डा. प्रदिप शिवाकोटीले विभिन्न कारणले शिशु यस्तो अवस्थाको जन्मिन सक्ने बताए । उनले गर्भावस्थामा पुर्याउनु पर्ने स्याहार आहार र पोलिक एसिडको सेवन नगर्दा यस्तो भएको हुन सक्ने बताउँछन् ।

सहयोगको अपिल

स्वास्थ्यकर्मीले उनको थप उपचारका लागी सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेपनि आर्थिक अभावका कारण घरमै राखेका छन् । “घरमा खाने खर्च समेत छैन् नेपालीले भनिन्-उपचारका लागि बाहिर लैजानुपर्ने बताउनुभएको छ, कसरी लैजाने सुत्केरीलाई आहार छैन ।” छोरीलाई स्तनपान गराउन समेत उनलाई सुरुमा डर लागेको उनले बताईन् ।

नेपाली परिवारले आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् । ट्रयाक्टरमा सामान लोड अनलोड गर्ने काम गर्दै आएका राजकुमारले छोरीको उपचारमा सहयोग गरिदिन सबैसगं अनुरोध गरे ।