काठमाण्डौ ।पपुवा न्युगिनीलाई फराकिलो अन्तरले हराउँदै नेपाल आईसीसी विश्वकप क्वालिफायर नजिक पुगेको छ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई नौ विकेटले पराजित गरेको हो। पपुवान्युगिनीले दिएको ९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ७.४ ओभरमै जित हासिल गरेको छ।
यो जितसँगै नेपालले दुई अंक थपेको छ। लिग–२ अंक तालिकामा नेपालको ३८ अंक पुगेको छ। अब नेपालले लिग चरणको अन्तिमखेल जितेमा लिगको तेस्रो स्थानमा रहँदै विश्वकप क्वालिफायर हुनेछ।
अहिले शीर्षस्थानमा रहेका स्कटल्यान्ड ५० अंक र ओमन ४४ अंकसहित दोस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा पुगिसकेका छन्।लिग चरणका सबै खेल खेलिसकेको नामिबियाको ३९ अंक छ। नेपालले चैत २ गते हुने यूएईसँगको खेल जितेमा ४० अंकसहितविश्वकप क्वालिफायरमा छनोट हुनेछ।
विश्वकप क्वालिफायर प्रतियोगिता आगमी असार ३ देखि २४ गतेसम्म जिम्बाबेमा हुनेछ। विश्वकप क्वालिफायर प्रतियोगितामा १०टोली प्रतिस्पर्धा गर्नेछन्। जसमा नेदरल्यान्डस्, जिम्माबे, स्कटल्यान्ड र ओमन छनोट भइसकेका छन्।
आजको खेलमा नेपालका लागि आशिफ शेखले ५३, कुशल भुर्तेलले ३३ र कुलश मल्लले १२ रन बनाए। शेखले २१ बलमा आठ चौका रतीन छक्का प्रहार गरे।
त्यस्तै, भुर्तेलले १४ बलमा चार चौका र दुई छक्का प्रहार गरे भने मल्लले १३ बलमा एक चौका र एक छक्का प्रहार गरे। पपुवान्युगिनीका लागि चाड सोपरले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले राम्रो शुरूआत गर्न सकेन। एक रनमै किल्पिन डोरिगालाई गुमाएको पपुवान्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो।
पपुवा न्युगिनीका लागि असल भालाले २०, सेसे बउले १८ र चार्ल्स अमिनीले १६ र हिरि हिरीले १४ रन बनाए। अन्य खेलाडीले दोहोरोअंक पनि जोड्न सकेनन्।
नेपालका सन्दीप लामिछानेले पाँच, ललित राजवंशी र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय श्रृङ्खलाको अर्को खेल चैत १ गते यूएई र पपुवा न्युगिनीबीच हुनेछ।लिग–२ को अन्तिम खेलमा चैत २ गते नेपाल र यूएई प्रतिस्पर्धा हुनेछ ।






