लमजुङ– नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरुको शैलीले देशको समृद्धिको अभियान अवरुद्ध भइरहेको दाबी गरेका छन् ।

पुष्पलाल लोकमार्गमा सञ्चालित एक महिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईले भने, ‘इतिहासको कथा सुनाएर विकास हुँदैन, कि आफूले क्षमता विकास गर्न सक्नुपर्‍यो नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्‍यो । मात्र कुर्सी ओगटेर देशलाई पछाडि नधकेलौं ।’

उनले हिजो लडाईं र क्रान्तिमा अब्बल देखिएका नेताहरु विकास र समृद्धिको नेतृत्व गर्न कमजोर देखिएको आरोप पनि लगाए ।
उनको प्रश्न थियो, ‘कतै हाम्रा नेताहरुसँग विकास र समृद्धिको आधारभूत ज्ञानको समेत अभाव भएको त होइन ?’

आउँदा केही दशकहरु असाध्यै महत्वपूर्ण हुने भन्दै राजनीतिक नेतृत्वले यसलाई ध्यान दिन नसक्दा मुलुक थप पिछडिने उनको तर्क थियो ।

‘क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारीहरु सत्तामा पुगेपछि विचलित हुने रहेछन्’ उनले भने, ‘आन्दोलनमा ज्यानै दिन तयार हुनेहरु सत्तामा पुगेपछि जनता विरुद्ध काम गर्न थाल्दा रहेछन्, सत्ताको चास्नीमा डुब्नेरहेछन् । भ्रष्टाचार र ठूला काण्डहरुमा मुछिने रहेछन् ।’

हिजो कुन हैसियतमा भएका मानिस आज कुन हैसियतमा पुगे भन्ने कुरा जनताले निरन्तर खबरदारी गर्नुपर्नेमा उनको जोड थियो ।

‘असल राजनीति अर्थात् राजनीतिलाई सफा गर्ने कुरा कुनै अलौकिक कुरा होइन, यो लोकतन्त्रलाई बलियो बनाउने कुरा हो र नागरिकको भूमिकालाई बलियो बनाउने काम हो,’ उनले संविधान निर्माणका प्रसंगहरु स्मरण गर्दै भने, ‘संविधानमा हामीले स्थानीय तहका २२ वटा अधिकार लेखेकै छौं । यस्तो अभ्यास संसारमा कतै पनि छैन ।’

उनले वर्तमान सरकारले स्थानीय तहको अधिकार अहिले खोस्ने दुस्प्रयास गरिरहेको आरोप लगाए ।

भ्रष्टाचार र अलोकतन्त्र क्यान्सरको संज्ञा दिँदै उनले भने, ‘अरुलाई लाग्दा राम्रो आफूलाई लाग्दा नराम्रो भन्ने सोच सबैले त्यागौं । मुलुकमा ठूला ठूला काण्डहरु घटिरहेका छन् । तर आफ्नो नेताले गरेको भन्नुभयोर तपाईंहरु चुप लाग्नुभयो भन्नुभयो यो देश बिगार्न नेताको मात्र होइन, तपाईंहरुको पनि भूमिका हुन्छ ।’

विकास र समृद्धिका लागि हाम्रोजस्तो देशमा केही रणनीतिक कुराहरुलाई जोड दिनुपर्नेमा उनले जोड दिए ।

फेसबुक कमेन्ट