काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक विकासमा उद्यमशीलताको भूमिका अपरिहार्य रहेको बताएका छिन् ।
राष्ट्रपति भण्डारीले नेपाली युवाहरुलाई मुलुकभित्रै रोजगारीको अवसर सृजना गर्न तथा मुलुकमा बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि उद्यमशीलताको विकास अति महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरेकी छिन् ।

नेपाल उद्यमशीलता शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उनले नविन सोच भएका युवाहरुमा लगानी र उद्यमशील वातावरण बनाउन सके नेपाली युवाहरु विश्व बजारमै सक्षम हुने र त्यसले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण योगदान दिने पनि स्मरण गराए । राष्ट्रपति भण्डारीले मुलुकमा नागरिकलाई सेवा, सुविधा पु¥याउने उद्देश्यका साथ लक्ष्य, योजना र कार्यक्रम सुरु भएको उल्लेख गर्दै त्यसलाई सफल पार्न युवालाई उद्यमशील बनाउन पर्नेमा पनि जोड दिए ।

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मुलुकलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न निजी क्षेत्रका उद्योगीहरुलाई आग्रह गरे । उनले आफ्नो भन्दा पनि राष्ट्र र जनताको पक्षमा उभिएर मुलुकको समृद्धिको अभियानमा सबैले साथ दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले युवाहरुलाई उद्यमशीलताप्रति आकर्षित गर्न सो सम्मेलन आयोजना गरिएको स्पष्ट पारे । युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न पनि सम्मेलनले सघाउ पुर्याउने विश्वास लिइएको पनि उनको भनाई थियो ।

नेपाल उद्योग परिसंघको संयोजनमा आयोजना गरिएको सम्मेलनमा देशभरका उद्यमीहरु सहभागी भएका छन । सम्मेलनले नेपालमा उद्यम विकास, लगानी र त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाका विषयमा ठोस धारणा तय गर्ने अपेक्षा गरिएको छ ।

फेसबुक कमेन्ट