लण्डन । बेलायतको लण्डनमा रहेको हिलिङडन अस्पतालले ‘नेपाल डे’ मनाएको छ । पश्चिम लण्डनमा अवस्थित अस्पतालले शुक्रवार एक कार्यक्रमको आयोजना गरि ‘नेपाल डे’ मनाएको हो ।
उक्त अस्पतालमा कार्यरत नेपालीहरुको ‘हिलिङडन हस्पिटल नेपाली ग्रुप’को आयोजनामा सम्पन्न भएको कार्यक्रमको सुरुवात नेपालको राष्ट्रिय गान बजाएर गरिएको थियो ।
कार्यक्रममा हिलिङडन अस्पताल व्यवस्थापनकी ‘विविधता र समावेशी’ प्रमुख ड्यानी कार्यस्निनोजले नेपालीहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै अस्पताल ट्रष्टको तर्फबाट धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रम सफल पार्न उक्त ग्रुपका सदस्यहरू नेपाली कला र संस्कृति झल्कने पहिरनमा उपस्थित भएका थिए भने कार्यक्रमस्थललाई पनि सोही अनुसार सजावट गरिएको थियो ।
कार्यक्रमकै अवसर पारेर नेपालको विविधता झल्किने गरि विभिन्न जातजातिका भेषभुषा र पोशाक सहित नेपाली लोकगीतमा नृत्य समेत प्रस्तुत गरिएको थियो । त्यस्तै नेपालको भौगोलिकता र ऐतिहासिकता झल्किने विभिन्न पर्यटकीय स्थलहरुको श्रव्यदृष्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा हिलिङडन हस्पिटल रेडियाका प्रमुख स्टिभ हिकम्यान, खानपान व्यवस्थापनका प्रमुख आन बर्न र चमेनागृहका प्रबन्धक डेभिड ब्लाकम्यान लगायतले मन्तव्य राखेका थिए ।
हिलिङडन हस्पिटल नेपाली समूहका सदस्य मणी तामाङको सञ्चालन रहेको कार्यक्रममा अतिथिहरूको व्यवस्थापन एवम् सञ्चार संयोजन अन्जना गुरूङले गरेकी थिइन् ।
त्यस्तै, नेपाली संगीतमा नृत्य व्यवस्थापन याम गुरूङ, नेपाली कला संस्कृति झल्काउने सामग्री प्रदर्शनीको व्यवस्थापनमा लीला भण्डारी र यायायात एवम् कार्यक्रमस्थल व्यवस्थापनमा रोशन श्रेष्ठ खटिएका थिए । कार्यक्रममा झण्डै ७ सय जना भन्दा बढी सहभागी भएका थिए । उक्त अस्पतालमा झण्डै १ सय ५० जना नेपाली कार्यरत रहेका छन् ।







