काठमाडौं । जवरजस्तीकरणीको आरोप लागेका चलचित्र अभिनेता पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका छन् । एक नाबालिग गायिकामाथि करणी गरेको जाहेरी परेपछि प्रहरीको खोजीमा रहेका शाह आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका हुन् ।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार बलात्कारको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले शाहको खोजीका लागि प्रहरी प्रधान कार्यालयमार्फत् देशभरका विभिन्न प्रहरी कार्यालयलाई आग्रह गरेको थियो ।
प्रहरीले खोजी गर्दा पनि उनी भेटिएका थिएनन् । शाहले आइतबार बिहान सामाजिक सञ्जालमा एक सन्देश लेख्दै आफू स्वयं प्रहरी कार्यालयमा उपस्थित हुने जनाएका थिए । प्रहरीले खोजी गर्दा पनि ’फरार’ रहेकोबारे उनले सामाजिक सञ्जालबाटै क्षमा समेत मागेका थिए । उनले नेपालको कानुनको सम्मान गर्दै आफै प्रहरी सामु उपस्थिति हुने समेत बताएका थिए ।






