काठमाडौं। चैत/वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जङ्गलका लालीगुराँस ओइलाएर झर्न लागेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले हिमाली जिल्ला म्याग्दीका लेकाली क्षेत्रहरूमा समयअघि नै लालीगुराँस फुलेको हो । मौसमी परिवर्तनका कारण विगतका वर्षमा चैत/वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघदेखि नै फुलेपछि यहाँका जङ्गल र लेकाली क्षेत्रहरू समयअघि नै राताम्ये भएका थिए ।
पछिल्लो समयमा जलवायु परिवर्तनका कारण वातावरणमा अस्वाभाविक परिवर्तन देखिँदा बाली पाक्ने, जङ्गली फलहरू पाक्ने र गुराँसको फूल फुल्ने समयमा पनि परिवर्तन आएको छ । जिल्लाको उत्तरी क्षेत्र घोडेपानी, शिख, घार, राम्चे, नारच्याङलगायत क्षेत्रमा केही ढिलो गरी फागुनको पहिलो सातादेखि नै लालीगुराँस फुलेको छ भने पश्चिमी क्षेत्रका अधिकांश जङ्गलमा पुसको अन्तिम सातादेखि नै फुल्न सुरु गरेको लालीगुराँस अहिले ओइलाउँदै गएर झर्न थालिसकेको स्थानीयवासीले बताए ।
मौसम परिवर्तनका कारण यस वर्ष चाँडै गुराँस फुलेपछि फुल्ने समयमा (चैत/वैशाख) ओइलाउन थालेको भकिम्लीका मनबहादुर श्रीषले बताए । पश्चिमी क्षेत्रमा लालीगुराँस फुलेर ओइलाउँदै झर्न सुरु गरेपछि हेर्नेहरूको घोडेपानी क्षेत्रमा भीड लाग्न सुरु भएको पर्यटन व्यवसायीहरूले बताए । घोडेपानीका जङ्गलमा ढकमक्क गुराँस फुलेपछि आन्तरिक पर्यटकको भीड लागेको थियो ।
प्राकृतिक सुन्दरतासँगै ढकमक्क फुलेका विभिन्न प्रजातिका गुराँसले मनलाई आनन्दित बनाउनाका साथै शरिरमा शुद्ध अक्सिजनको माग केही क्षणका लागि भए पनि पूरा गर्न पाएकामा खुसी लागेको काठमाडौँबाट पारिवारिक भ्रमणका लागि घोडेपानी आएका वरिष्ठ कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए ।






