काठमाण्डौ । अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सत्ता गठबन्धनमा सहमति जुटेको छ ।
आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निणर्य गरेको पौडेलको भनाई छ । एमसीसी पारित गराउन पनि एमालेको सकारात्मक भूमिका रहने नेता पौडेलले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूणर्बहादुर खड्का, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
एमसीसी इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानभन्दा माथि नरहेको र यो विशुद्ध आर्थिक विकास सहयोगको रुपमा मात्र बुझ्छौँ भनेर व्याख्या गर्दै पारित गर्ने निणर्य गरेको पौडेलले जानकारी दिए ।






