तम्घास । गुल्मीको सत्यवति गाउँपालिका–४ मा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ । स्थानीय बासिन्दा सुतेको समयमा हिजो विहान २ बजेतिर पहिरोले पुरिदा १३ जनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिकाका अनुसार पहिरोले बाटो अवरुद्ध भएपछि विस्थापति भएकाहरुलाई खाद्यान्न पु-याउन समेत समस्या भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वर्षा पुनः सक्रिय भएको जनाएको छ । मनसुनी न्युन चापीय रेखा तराई क्षेत्र नजिकै रहेकाले देशभर मनसुनी वर्षा पुनः सक्रिय हुने देखिएको मौसमविदले बताएका छन् ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् । आज देशभर सामान्यदेखि पूर्ण बलदी भई अधिकांश स्थानमा वर्षा हुनेछ । थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा पानी पर्नेछ । देशका थोरै स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।
यस्तै, भोलि पनि देशभर सामान्य बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भागका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।






