राजविराज । सप्तरीमा आज बिहान मेघ गर्जनसँगै परेको चट्याङले तीन जनाको मृत्यु भएको छ । चट्याङ लागेर सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कंकालिनी नगरपालिका–११ का शुभ नारायण पण्डितकी ४५ वर्षीया श्रीमती शिवसती देवी पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चौधरीको खेतमा काम गरिरहेको अवस्थामा र पण्डितको खेतबाट घर फर्किने क्रममा चट्याङ् लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मनोज कुमार यादवले जानकारी दिनुभयो । चट्याङ् लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तऋषि अस्पताल लहान लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, तिलाठि कोइलाडी गाउँपालिका–१ बस्ने लक्ष्मण यादवकी १५ वर्षीया छोरी पुनम कुमारी यादवको खेतमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ् लागेर ज्यान गएको प्रहरीले जनाएको छ। यसैगरी, चटयाङ्गबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका(७, ब्रहमपुरमा तीन जना घाइते भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा अचानक चटयाङ्ग पर्दा ४२ वर्षीया देवकी देवी साह, ३८ वर्षीय दिपेन्द्र साह र उनकी ३० वर्षीया श्रीमती सोनी देवी साह घाइते भएका हुन् ।






