सिंगापुर । टि–२० विश्वकप छनोटको एसिया फाइनलको दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक सँगै नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । नेपालले टि–२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ । जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ । यसकालागि कतारसँग हार व्यहोरेको नेपालले बाँकी खेल भने जित्नुपर्छ ।
वर्षाका कारण ९ ओभरमा छोट्इएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहे ।
यसैबीच, नेपालको जितमा मल्लले कीर्तिमानी अर्धशतक बनाए । आक्रामक पारी खेलेका उनले २१ बलको सामना गरेर ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाएका हुन् । यो नेपाली खेलाडीले सबैभन्दा कम बलमा बनाएको अर्धशतक हो । यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो ।






