नेपाली बालबालिकाहरुले नेदरल्याण्डमा पहिलो होली भव्य रुपमा मनाए

सिड्नी । नेपाली विद्यालयका बालबालिकाहरुले नेदरल्याण्डमा पहिलो पटक होली पर्व मनाएका छन् । नेपाल म्युजिक फाउण्देशनद्वारा आम्स्टर्डाममा संचालित स्कुलका बालबालिकाहरुले आपसमा आत्मियता साटासाट गरी होली पर्व उल्लासका साथ मनाएका हुन् ।

होलीको अघिल्लो दिन देखिनै तैयारीमा जुटेका उनीहरुले एकआपसमा रगंहरु दलेर तथा कपडाहरु रङ्याएर होली पर्व मनाएका हुन् । नेपाली संस्कृति, हाम्रा रितिरिवाज र पर्वहरुसगं साक्षात्कार गराउने उद्धेश्यले पहिलो पटक होली पर्व भव्य रुपमा मनाईएको नेपाली स्कुलकी अम्बिका गिरीले लण्डन नेपाल न्यूज अस्ट्रेलियालाई जानकारी दिईन् ।

नेपाली भाषा, संस्कृति, सगींत, नृत्य, योग र ध्यान जस्ता विषयहरुलाई समेटेर नेपाली स्कुलले प्रत्येक आईतबार आम्स्टर्डम नर्थमा विभिन्न कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ । नेदरल्याण्डमा हुर्कँदै गरेका नेपाली नयाँ पुस्ताका बालबालिकाहरुलाई समग्र नेपालको विशिष्ट पहिचान दिलाउने र नेपाली पन सिकाउने उद्धेश्यले विभिन्न कक्षाहरु सञ्चालन गर्दै आईरहेको गिरीको भनाई छ ।

विद्यालयले थालेको यस्तो अभियानलाई नगरपालिका लगायत अन्य सरकारी तथा गैरसरकारी निकायहरुले पनि साथ र सहयोग गरिरहँदा आफुहरुलाई अझै उर्जा मिलेको उनले बताईन् । अझै पनि थुप्रै नेपाली समुदायबाट साथ सहयोगको अपेक्षा गरेको उनको भनाई छ ।