बिल गेट्सले थ्री-ह्विलर ईभी चलाएको भिडियो भाइरल बन्दै

काठमाडौं । हाल भारत भ्रमणका क्रममा रहेका माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले थ्री-ह्विलर ईभी चलाएको भिडियो भाइरल भएको छ । भिडियोमा उनले महिन्द्रा एण्ड महिन्द्राले उत्पादन गरेको ट्रियो मोडलको विद्युतीय रिक्सा प्रयोग गरेका छन् ।

उनले सो सवारी चलाएको भिडियो आफ्नो इन्स्टाग्राममा पनि राखेका छन् । उनले गेट्स नोट्स शीर्षकमा महिन्द्रा इलेक्ट्रीक थ्री–ह्वीलरको प्रशंसा गर्दै भारतको आविष्कारप्रतिको लगाव देखेर आफू चकित भएको बताएका छन् । उनी लेख्छन्, ‘मैले १३१ किलोमिटर अर्थात् लगभग ८१ माइल सम्म यात्रा गर्न सक्ने ४ सिट क्षमताको इलेक्ट्रीक रिक्सा चलाएँ। महिन्द्रा जस्ता कम्पनीहरूले यातायात उद्योगको डी-कार्बोनाइजेशनमा गरेको योगदान प्रेरणादायी छ।’

कम्पनीले महिन्द्रा ट्रियो भारतीय बजारसँगै विश्व बजारका लागि उत्पादन गरेको इलेक्ट्रीक कमर्सियल सेग्मेन्ट अन्तर्गतको सवारी मध्येको एक हो । महिन्द्र ट्रियोलाई एकपटक चार्ज गर्न ४ घण्टा समय लाग्छ भने एकपटकको चार्जमा १३० किलोमिटर बढी गुडाउन सकिने कम्पनीको दाबी छ ।

यसले ८ किलोवाट पावर र ४२ एनएम टर्क उत्पादन गर्छ । नेपालमा पनि विक्री भइरहेको ट्रियोमा चालक सहित ३ जनाले आरमदायी यात्रा गर्न सकिन्छ । नेपाली बजारमा ट्रियोको मूल्य ८ लाख ४० हजार रुपैयाँ रहेको छ । धेरै प्रविधिमैत्री ट्रियोमा दुई ड्राइभिङ मोड, नेमो मोबिलिटी प्लेटफर्म जस्ता चालकलाई सहयोग गर्ने फिचरहरू पाउन सकिन्छ । कम्पनीले यसमा ८० हजार किमी वा ३ वर्षको वारेन्टी प्रदान गरेको छ ।

https://www.instagram.com/p/CpbFNcsN1d-/