बेहुली लिएर फर्किरहेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाण्डौ : प्युठानमा बेहुला-बेहुली सवार जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिकाबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । मृत्यु हुनेमा स्थानीय एकै घरका श्रीमान बसन्त खड्का, श्रीमती बसन्ता खड्का, छोरी एलिशा खड्का रहेका छन् ।

त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन् । एक जना लुङका व्यक्तिको पहिचान हुन सकेको छैन। मृत्यु हुनेहरु गौमुखी गाउँपालिका–६ का स्थानीय हुन्।

दुई जनाको उपचारको क्रममा प्यूठान अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइतेहरुको प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। शुक्रबार राती १ बजे दुर्घटना भए पनि ५ बजेतिर मात्रै थाहा पाइएको सीडीओ भुसालले बताए ।

जीपमा १३ जना सवार थिए । जिप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको थियो । पहिरो परेका कारण जीप दुर्घटना भएको प्रारम्भिक जानकारी आएको भुसालले बताए ।