काठमाण्डौ : यतिबेला सामाजिक सञ्जालमा एउटा तस्बिरले निकै चर्चा पाईरहेको छ । उक्त तस्बिरमा एक वृद्ध आमालाई महिला स्वास्थ्य स्वयं सेविका आफैले बोकेर खोप लगाउन खोप केन्द्रसम्म पुर्याउन लागेको देखिन्छ । यो तस्बिरले नेपालका सामाजिक सञ्जाल त रगिंएका छन् नै अमेरीकी राजदुतले समते प्रशसां गरेका छन् ।
उक्त तस्बिरमा चर्चामा आएकी पात्र हुन् गुल्मी दरबार गाउँपालिकाकी ४२ वर्षीय महिला स्वंय सेविका लिला थापा । माघ १४ गते गुल्मीदरबार गाउँपालिका-३ की ७८ वर्षीया वृृद्धा देवकला टण्डनलाई पिठ्युँमा बोकेर उनले कोभिड-१९ विरुद्धको खोप लगाउन लग्दै थिईन् ।
सोही बेला खिचिएको तस्बिरले देशका ठूला मिडिया, सामाजिक सञ्जाल र अभियन्तादेखि अमेरिकी राजदूतको समेत ध्यान खिचेको छ । कोरोना भाईरस विरुद्धको खोप सञ्चालन भईरहेको बारे उनी सचेतना प्रदान गर्न उनी गाउँ गाउँमा डुलिरहेकी थिईन् । सोही क्रममा स्थानीय ७८ वर्षीय देवकला टण्डनले अझै खोप नलगाएको भनेर उनकी छोरी फुर्सीले थापालाई सुनाईन् ।
आफुपनि विरामी रहेको र अप्ठ्यारो सडक तथा आमा आफै खोप केन्द्रसम्म हिँडेर जान नसकेको बताएपछि उनी वृद्धाको घरमै पुगीन् । गाउँमा एक जनाको मृत्यु भएपछि छोरा मान्छे सबै मलामी गएका थिए । उनलाई बोकेर खोप केन्द्रसम्म लैजाने मान्छे भएनन् । त्यसपछि लिलाले आफैले बोकेर ती वृद्धालाई खोप केन्द्रसम्म लैजाने निणर्यमा पुगीन् । टण्डनको घरबाट स्वास्थ्यचौकी पुग्न करिब आधा घन्टा मात्रै लाग्छ ।
बिरामी नभएको भए उनकै छोरीले स्वास्थ्य चौकी ल्याउने थिइन् । मैले लोकप्रियता कमाउन आमालाई बोकेको होइन । यहाँको सडकको दुरवस्था र वृद्धवृद्धाको वास्तविकता देखाउन खोजेकी हुँ । ठूला सडकले मात्रै प्राथमिकता पाउँदा साना र साँघुरा सडक प्राथमिकतामा पर्दैनन् ।
यही कारण स्थानीयले भोग्नुपरेको जोखिम देखाउन मैले फोटो सार्वजनिक गरेकी हुँ । खोप लगाएपछि पनि आमालाई फेरि बोकेर घरमै पुर्याएँ । थापाले सुनाईन् ।
फोटो सार्वजनिक गरेको केही बेरमै फोन र म्यासेज आउन थाले । तस्बिरमा देखिएको परिस्थितिले सबैको मन छोएको होला । यसअघि पनि कैयौँ अप्ठ्यारामा काम गरेकी छु । स्वास्थ्य आमा समूहमै काम गर्दा पनि निकै पीडा भोगेकी छु । अहिलेको प्रशंसा र स्याबासीले काममा थप ऊर्जा भरेको छ ।
थापाले ०७१ सालबाट स्वयंसेविकाको रूपमा काम गर्न थालेकी हुन् । स्वयंसेविका नहुँदा पनि गाउँमा गर्भवती र सुत्केरीको घरघरमा पुग्थेँ । मलाई रेडक्रसले मानवताको विषयमा धेरै कुरा सिकाएको छ । त्यसैले सूचना पाएसम्म कुनै घटना वा दुर्घटनामा उद्धारमा पहिले नै पुग्न खोज्छु । असल नियतको कर्मको फल एक दिन मिल्छ ।
मेरी छोरी दृष्टिविहीन छिन् । उनी जन्मजात दृष्टिविहीन हुन् । अपांग तथा दृष्टिविहीन परिवारप्रति समुदायले हेर्ने दृष्टि फेरिएको छैन । यस्तै वातावरणबीचमा पनि छोरीले १२ कक्षा उत्तीणर् गरेकी छन् । आफ्नै छोरी जन्मजात दृष्टिविहीन भएकाले पनि कोही सुत्केरी हुनेबित्तिकै बच्चाको शारीरिक अवस्था हेर्छु । बच्चा जन्मनेबित्तिकै हात, खुट्टा र आँखा हेर्ने गर्छु । केही समस्या भए बेलैमा उपचार गरे निको हुन सक्छ । परिवारमा भोगेको पीडा अरूले भोग्नु नपरोस् जस्तो लाग्छ ।
सरकारले हामीलाई वर्षमा पोसाकबापत १२ हजार, गाउँपालिकाले मासिक सात सय र अभियानमा भत्ताबाहेक केही दिँदैन । यो पोसाकमा सर्वसाधारणको घरमा पुग्दा डाक्टर नै आए झैँ गर्नुहुन्छ । त्यो माया नै हाम्रो आत्मसम्मान हो । त्यही गर्वका साथ कर्म अगाडि बढेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पनि उठेकी थिएँ । जिल्लाका ९३ वडामध्ये महिला अध्यक्षमा उम्मेदवार दिने म एक्लै थिएँ । एमालेबाट गुल्मीदरबार गाउँपालिका-३ को वडा अध्यक्षमा उम्मेदवारी दिएकी थिएँ । तर, कांग्रेसका बलबहादुर थापाले जिते ।
कोभिड सक्रंमणको पछिल्लो अवस्थामा महिला स्वास्थ्य स्वयं सेविका सबैभन्दा अग्रपंक्तिमा खटेर काम गरेका छन् । गाउँमा बाहिरबाट आउनेहरुको तथ्यांक सकंलन, कोभिड सचेतना, खोपका लागि समुदायमा सुचनासगैं स्वास्थ सामग्री मास्क सेनिटाईजर लगायतको प्रयोगबारे महिला स्वयं सेविकाले सबैभन्दा अगाडि रहेर काम गरेका मात्र छैनन् । कोभिड नियन्त्रणमा सहयोगी सावित भएका छन् ।






