बेलायतको ग्रीनीचमा काउन्सिलरको उम्मेदवार चयन भए,जीत रानाभाट,को उनी? योजना के छन् ?

लण्डन । बेलायतमा आगामी मे ५ मा हुने स्थानीय चुनावमा रोयल ग्रीनीच नेपाली सोसाईटीका अध्यक्ष जीत रानाभाट काउन्सिलर पदको उम्मेदवार चयन भएका छन् । चुनाव नजिकिँदै गर्दा अहिले विभिन्न पार्टीबाट उम्मेदवार चयन र घोषणा कार्यक्रम भईरहेको छ ।

उम्मेदवार चयन भएपछि लण्डन न्यूज नेपालसगं कुराकानी गर्दै रानाभाटले पार्टीले आफुलाई विश्वास गरेर उम्मेदवारी दिएको भन्दै विजयी बनाउन सम्पूणर्लाई आग्रह गरे । उनले पार्टीको विश्वास र जनमत खेर जान नदिने भन्दै विजयी पश्चात
ग्रीनीचबासी तथा नेपाली समुदायको हीतका लागि हरदम प्रयासरत रहने बताए ।
रानाभाट ग्रीनीच लेबर पार्टीको तर्फबाट दक्षिण पूर्वी लण्डनको प्लमस्टिड तथा ग्लीनडन वडाबाट काउन्सिलर पदको उम्मेदवार चयन भएका हुन् । बेलायतको ग्रीनीच काउन्सिल अन्तर्गत पर्ने उक्त वडा नेपालीहरुको बाक्लो बसोबास भएको क्षेत्र हो । ग्रीनीच लेबर पार्टीको विहीबार भएको बैठकले रानाभाटलाई काउन्सिलरको उम्मेदवार चयन गरेको हो ।

सन् २००८ मा हाई स्किल भिषामा बेलायत आएका रानाभाट अहिले सपरिवार सहित साउथ इस्ट लण्डनमा बसोबास गर्दछन् । सामाजिक र संस्थागत कार्यमा सक्रिय उनले बेलायत स्थित थुप्रै नेपाली सघंसंस्थामा काम गरिसकेका छन् । एनआरएन युकेको २०१७-१९ सम्म कार्यसमिति सदस्य रहेर काम गरेका उनले सन् २०१९-२१ मा सचिव पदमा रहेर काम गरेका थिए । उक्त संस्थामा रहँदा नयाँ कार्यशैली र भिजन सहित जिम्मेवारीमा रहेका उनले संस्थाको व्यापार प्रबर्द्धन विभागको संयोजकको समेत जिम्मेवारी पाएका थिए ।

कोरोना संक्रमणका बेला उनले गरेको कामको विशेष प्रशंसा समेत भएको थियो । महामारीको समयमा समस्यामा परेका नेपाली समुदायलाई सहयोग गर्न एनआरएन यूकेले चलाएको हेल्पडेस्कमा संयोजकको भूमिका रानाभाटले लिएका थिए । कोभिड महामारीमा गरेको सहयोगको कदर गर्दै रानाभाटलाई बीबीसी रेडियो लन्डनले ‘मेक अ डीफरेन्स हिरो’को रुपमा कदर गरेको थियो । आरजीएनएसको कोभिड सहायता र जनगणना अभियानमा पनि उनले सयोंजक भएर सकृय भूमिका निर्वाह गरेका थिए ।

आफ्नै व्यवसाय गर्दै आएका रानाभाटले नेपालको पोखरा युनिभर्सिटीबाट एमफिलसम्मको अध्ययन गरेका छन् । सामाजिक कार्यमा क्रियाशिल रानाभाट नेप्लिज प्रोफेसनल्स युके , यती नेपाली एशोसिएसन, क्षेत्री समाज युके, पशुपतिनाथ मन्दिर लगायतका अन्य थुप्रै संघ संस्थामा नेतृत्व तहमा रहेर काम गरिसकेका छन् ।