सहयोग पाइने आशमा परिचयपत्र बनाउनेको भीड

रसुवा, २ आषाढ । विदेशी सहुलियत पाइने हल्ला र राहतको रकम बढी पाइने आशले जिल्लामा भुकम्पपीडित परिचयपत्र लिने क्रम बढेको गाविस सचिवहरुले बताएका छन् । जिल्लाको तल्लो भेगको लहरेपौवा–१ मा वडा नागरिक मंच र दलीय संयन्त्रभन्दा व्यक्तिवादी हावी भएको गाविस सचिवले जनाएका छन् । गाविस सचिव गीता सापकोटाले भनिन् नियम अनुसार काम गर्न खोज्दा व्यक्ति हावी भएका कारण केही परिचयपत्र बढेको हुन सक्ने बताइन् ।
गाविसमा विदेशी सहुलियत पाइन्छ भनेर परिचयपत्र लिनेहरु बढेको स्थानीय कृष्ण पौडेलले बताए । भुकम्पपीडित कार्ड लिएपछि विदेशी जान, बालबच्चालाई छात्रवृत्ति सजिलै पाइने लगायतका सुविधा पाइने हल्लाले परिचयपत्र लिने शिक्षित ठाउँमा बढेको स्थानीयले स्वीकारे ।
त्यसैगरी परिचयपत्र बनाए सबैले १५/१५ हजार र अन्य सुविधा पाइन्छ भनेर पनि परिचयपत्र लिने बढेको पनि कडाई गरेको यार्साका सचिव अच्युत खरेलले बताए । केही गाविसमा थोरै समस्या देखिएको स्थानीय विकास अधिकारी गजेन्द्र ठाकुरले बताए ।‘जिल्लामा सामान्य समस्या आउछन्,’उनले भने–‘उनीहरुलाई कानुन लाग्छ ।’ जिल्लाको १८ गाविस मध्ये १३ गाविसमा भुकम्प पीडित परिवार परिचयपत्र वितरण भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्लामा वितरण परिचपत्र वितरण भैरहेकोले कति वितरण भएको कुनै जानकारी नआएको जिल्ला दैवी प्रक्रोप उद्धार समितिले जनाएको छ । ‘टोली खटिएको छ,’ समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने, ‘कति वितरण भएको जानकारी आउन बाकी छ ।’

नौं करोड रुपैया वितरण
रसुवाका भुकम्पपीडित १८ वटै गाविसलाई ७ हजार रुपैया वितरण भैरहेको छ । त्यसैगरी भुकम्प पीडित परिवार परिचयपत्र वितरण संगै ५ वटा गाविसमा १५ हजार रुपैया वितरण भैरहेको छ । अहिलेसम्म ९ करोड रुपैया वितरण भैसकेको स्थानीय प्रशासनले जनाएको  छ  । प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललेभने, ‘टोली खटिएको छ, कति रकम बाँडियो तथ्यांक आउन सकेको छैन ।’
प्रभावित १८ गाविसमध्ये लाङटाङ बाहेक हाकु, डाडागाँउ, ठूलोगाँउ भुकम्पबाट बढी प्रभावित छन् । अन्य गाविसका केही वडाहरु प्रभावित छन् । हाकु, डाडागाँउ ठूलोगाँउ लगायत २ हजार स्थानीयवासी स्थानान्तर गर्नु पर्ने देखिएको छ ।