काठमाडौं- मधेसी मोर्चाको अवरोधका कारण ठप्प भएको वीरगञ्ज-रक्सौल नाका दोस्रो दिन पनि सहज छ ।
अवरोध भएको १ सय ३५ दिनपछि रक्सौल र वीरगञ्जका स्थानीय व्यापारीले मोर्चा कार्यकर्तालाई शुक्रबार पुलबाट लखेटेका थिए । उनीहरुले मोर्चा कार्यकर्ताले मितेरी पुलमा राखेको पाल च्यातेर आगो लगाएका थिए । लगत्तै रक्सौल र वीरगञ्जमा अड्किएका मालवाहक ट्रक आवतजावत हुन थालेको हो ।
यसैबीच इन्डियन आयल कर्पोरेसन आईओसीले रक्सौल नाकाबाट गएका गाडीमा शनिबार इन्धन लोड नगरिदिएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार रक्सौल नाका सहज भएको थाहा नभएको भन्दै आइओसीले इन्धन लोड नगरिदिएको हो । शुक्रबार नेपाल भारत सीमा नाकामा स्थानीय बासिन्दाले धर्नाकारीको त्रिपाल जलाइदिएपछि गाडी ओहोरदोहोर गरेका थिए ।
त्यसपछि नेपालबाट झण्डै ३५ वटा ट्यांकर इन्धन लिन भारत गएपनि आईओसीले लोड नदिएको निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।






