राष्ट्रपतिको चुनावका बारेमा छलफल गर्नुपर्ने कुरै के छ र ? प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौँ । सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो ।

बैठकमा सरकारका अहिलेसम्मका कामका बारेमा समीक्षा भएको राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए ।

बैठकमा संयन्त्रका संयोजक ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष लिङ्देन र रास्वपा सभापति रवि लामिछाने सहभागी थिए ।

बैठकबाट आफू भने निस्किएको जानकारी दिँदै उपप्रधानमन्त्री लिङ्देनले भने, ‘अहिलेसम्म सरकारले गरेका कामका बारेमा समीक्षा भयो । अब कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल भयो ।’

राष्ट्रपति निर्वाचनका बारेमा पनि केही छलफल भयो भन्ने प्रश्नमा लिङ्देनले भने, ‘राष्ट्रपति चुनावका बारेमा छलफल गर्नुपर्ने कुरै के छ र ? सबै पहिले नै तय भइसकेको कुरामा छलफल आवश्यक भएन नि ।’

माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै कांग्रेससँगको सहकार्यमा जोड दिएपछि एमाले संशकित भएको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको छ ।