लन्डन ,
बेलायतको नेपाली समुदायमा एक भद्र समाजसेवीको रुपमा चिनिने व्यवसायी बालजंग अर्यालले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपिया बढीको सहयोग प्रदान गरेका छन ।
भुकम्पपिडितको सहयोगार्थ उनकै विशेष पहलमा बेलायतमा गरिएका दुई कार्यक्रमबाट संकलित ८ लाख १३ हजार ३ सय ९१ रुपिया अर्यालले गतसाता काठमाडौंमा प्रधानमन्त्री शुसिल कोइरालालाई हस्तान्तरण गरेका छन । भुकम्पपिडितका लागि जुटाएको सहयोग रकम लिएर आफै नेपाल पुगेका अर्यालले गत मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कोइरालालाई नै भेटेर सहयोगको चेक बुझाएका थिए । त्यसक्रममा अर्याल र उनकी श्रीमति कमला अर्याललाई प्रधानमन्त्री कोइरालाले विशेष धन्यवाद दिदै विदेशमा बस्ने नेपालीले जन्मभूमिलाई दर्शाउने माया प्रशंसनीय छ भनेका थिए । त्यस्तै भुकम्पका कारण घरबारविहिन भएका गुल्मीका ३० परिवारलाई समेत अर्यालले आर्थिक सहयोग उपलब्ध गराउका छन । आफनो पुख्र्यौली गुल्मीको शान्तिपुर आसपासको एक विकट गाउंका ती पिडित परिवारलाई प्रति परिवार दुई हजारका दरले अर्यालले कुल ६० हजार रुपिया वितरण गरेका हुन ।
भुकम्पपिडतको सहयोगका लागि अर्याल सञ्चालक रहेको लण्डनको सिडनहमस्थित द गोर्खाज रेष्टुरेन्टले गत मे ११ तारिखमा गरेको च्यारिटी डिनरबाट ५ लाख ७ सय ६१ रुपिया उठेको थियो । सो सांझमा रेष्टुरेन्टले गरेको व्यापार र डोनेसन बक्समा ग्राहकहरुले गरेको सहयोगबाट उक्त रकम जम्मा भएको थियो । त्यसअघि मे १० तारिखमा सोहि रेष्टुरेन्टकै सहयोगमा फरेष्ट हिलस्थित हिन्दू मन्दिरमा गरिएको एक कार्यक्रमबाट ३ लाख १२ हजार ६ सय ३० रुपिया संकलन भएको थियो ।
महालक्ष्मी विद्या भवन मन्दिरमा गुरु बांकिम गोसाईले गरेको भजनकिर्तन कार्यक्रमका सहभागी र सहयोगदाताहरुका लागि अर्यालकै गोर्खाज रेष्टुरेन्टले प्रसाद उपलबध गराएको थियो । त्यसक्रममा नेपाली समुदायको प्रतिनिधित्व गर्दै अर्यालसंगै एनआरएन यूके अध्यक्ष महेन्द्र कंडेल, गुल्मी समाजका अध्यक्ष अर्जुन गौतम, शोभा खरेल लगायत उपस्थित थिए । विगत २५ वर्षभन्दा लामो समयदेखि बेलायतमा बस्दै आएका अर्याल बेलायतमा लोभलाग्दो सफलता चाखेका थोरै नेपाली व्यवसायीहरुमध्ये एक मानिन्छन । उनको सिडेनहमस्थित द गोर्खाज रेष्टुरेन्ट साउथ ईष्ट लण्डनकै लोकप्रिय नेपाली तथा इण्डियन रेष्टुरेन्टका रुपमा स्थापित छ । त्यसबाहेक अर्याल नै सञ्चालक रहेको कान्तिपुर सर्भिसेज बेलायतकै अग्रणी र पुरानो नेपाली रेमिटेन्स कम्पनी हो । गुल्मी जिल्ला समाजका सल्लाहकार तथा संस्थापकहरुमध्येका एक अर्यालले यहांको समुदायमा एक इमान्दार व्यवसायी र भद्र समाजसेवीको छवि बनाएका छन ।







