मोरङका एक दर्जन बढी पत्रकारले चौतारी छाडे

उर्लाबारी, १० चैत । प्रेस चौतारी मोरङका एक दर्जन बढी सदस्यहरुले संगठनमा असन्तुष्टि जनाउँदै मंगलबार सामूहिक राजीनामा दिएका छन् ।

संगठन भित्रको अस्वस्थ प्रतिस्पर्धा, आर्थिक अपारदर्शिता, व्यवसायीक पत्रकारको उपेक्षा र सम्मान र पुरस्कारमा सिण्डिकेट लगायतका असन्तुष्टि ब्यक्त गर्दै उनीहरुले साधारण सदस्य समेत नरहने गरी चौतारी छाड्ने निर्णय गरेका हुन् ।

चौतारी छाड्ने को-को ?

चौतारीबाट सामूहिक राजीनामा दिनेहरुमा प्रेस चौतारी मोरङका पूर्व जिल्ला उपाध्यक्ष मिलन के.राउत, पूर्व जिल्ला सदस्य घनश्याम भण्डारी, जिल्ला सदस्य सन्तोष राई, सुमन घिमिरे, अग्रज पत्रकार जगन्नाथ भट्टराई छन् ।

यसैगरी उर्लाबारी नगर कमिटी अध्यक्ष ज्योती शर्मा, सचिव नवराज भट्टराई, नगर सदस्यहरु बिजय धिमाल, ईश्वर भट्टराई, मात्रिका पौडेल, गोबिन्द पोख्रेल समेतले राजीनामा दिएका छन् ।

यस्तै पूर्वी मोरङका सक्रिय पत्रकार तथा चौतारीका साधारण सदस्यहरु मदन दाहाल, पुण्य पी.अधिकारी, यादव बिष्ट, सन्तोष गौतमले समेत असन्तुष्टी ब्यक्त गर्दै राजीनामा दिएका छन् ।

नेपाल पत्रकार महासंघ मोरङमा चौतारीको नेतृत्व भएपनि आफ्नै संगठनका सहकर्मीलाई अपमानित तुल्याउने, व्यक्तिगत स्वार्थ र स्वेच्छाचारिता प्रदर्शन गर्ने जस्ता नेतृत्वको हर्कतबाट आजित भई उपलब्ध सदस्यहरुले हस्ताक्षर सहित सामूहिक राजीनामा दिएको जिल्ला सदस्य सन्तोष राईले बताए ।
उनका अनुसार सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गर्न छुटेका पत्रकारहरुले मौखिक समर्थन जनाएका छन् । प्रेस चौतारीको केन्द्रीय समिति र कोशी अञ्चल इन्चार्जलाई राजीनामा पत्रको बोधार्थ दिइएको पूर्व जिल्ला उपाध्यक्ष मिलन के. राउतले जानकारी दिए ।

विज्ञप्ति हेर्नुहोस् –

Press-Chautrai-Morang-Resig