एनआरएन यूके शुभकामना कार्यक्रममा,शपथ देखि सम्मान र प्रतिवेदन सम्म

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आइतबार लन्डनमा नयां वर्ष शुभकामना तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सुनिलबाबु खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यले अध्यक्ष खड्कालाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एनआरएनए आइसीसी अध्यक्ष आचार्यले एनआरएनए यूकेमा केही उतारचढाव भएपनि झुटको खेती बढी हुन थालेको बताए । छातीमा हात राखेर सोच्न आग्रह गर्दै उनले भने, ‘गैर आवासीय नेपाली संघ बेलायतको इतिहासमा सर्वोत्कृष्ट कार्यसमिति मेरो रहेको दावीका साथी भन्छु । म कहिल्यै कोषाध्यक्ष र महासचिव भइन । जहिले लिडिङ रोलमा मैले गैर आवासीय नेपालीका मुद्दामा बढी फोकस गरेको छु । तर यहां अनावश्यक हल्ला फैलाइयो ।’

गैर आवासीय नेपालीका प्रमुख मुद्दा नेपाल सरकारले सम्वोधन गरेको अवस्थामा एक भएर अघि बढ्न आचार्यले अपिल गरे । गाली गलौज गर्दैमा कोही अगाडि नपुगिने पनि आचार्यको धारणा थियो ।

विशेष अतिथी बाग्मती प्रदेश सरकारका भूमि व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेलले नेपालमा ज्यादै कममात्र नेता राष्ट्रप्रति बफादार भएको उल्लेख गर्दै प्रदेश सरकारलाई कम अधिकार दिइएको गुनासो गरे ।

‘कि संघीयता खारेज गर कि अधिकार देउ’, उनले भने, ‘तपाईंहरु विदेशमा दुःख गर्नुभएको छ, सिस्टममा हुनुहुन्छ अनि पो देश बनेको छ। नेपालमा त न काम छ न अवसर ।’

मन्त्री पौडेलले एनआरएनए यूकेको नेतृत्वलाई सफलताको शुभकामना दिंदै एक भएर अगाडि बढ्न सुझाव पनि दिए ।

एनआरएनए आइसीसी उपाध्यक्ष डा. हेमराज शर्माले पछिल्लोपटक संघमा संसारभर जे जस्ता समस्या आए त्यसप्रति क्षमायाचना गर्दै उनले नेता र नीति परिवर्तन नभएसम्म संस्थामा सुधार नआउने बताए ।

डा. शर्माले संस्थाले बोकेका अभियान भने सबैका लागि लाभदायक भएको बताए ।एनआरएनए आइसीसी उपमहासचिव रामशरण सिम्खडाले सबैलाई आफ्नो काबुमा संस्था हुनुपर्छ भन्ने मान्यताले एनआरएनएमा समस्या आएको बताए ।

उनले निष्पक्ष निर्वाचन गराउने मुल जिम्मेवारी सुनिल खड्कामाथि रहेको पनि उल्लेख गरे । खड्काको कमिटी नै वैधानिक भएको जोड दिंदै सिम्खडाले मतभिन्नता रहेका सबैलाई एकै ठाउंमा ल्याउन पनि सुझाव दिए ।

एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेलले आर्थिक प्रतिवेदन पेश गर्दै आफ्नो कार्यसमितिले गत २०२१ अक्टोबरमा कुल एक लाख ७६ हजार ८ सय ७३ पाउण्ड लिएको बताए ।

उनले ४४ हजार ८१६ पाउण्ड संघको कोषमा मौज्जाद भएको भनिएपनि पुरानो कार्यसमितिबाट उक्त पैसा नआएको जानकारी दिए ।यस कार्यकालमा कार्यालय सञ्चालन, ग्लोवल हेल्थ सम्मेलन, राजदूतको स्वागत कार्यक्रम, युक्रेनका युद्ध पीडित र नेपालमा बाढी पीडितलाई सहयोग जस्ता अन्य विभिन्न शीर्षकमा ५८ हजार ४७२ पाउण्ड खर्च भएको जानकारी उनले दिए ।

कोषाध्यक्ष खरेलले प्रमाणित हुन नसकेको रकम १२ हजार ५७२ पाउण्ड र अवैधानिक खर्च ८ हजार तीनसय ९६ पाउण्ड भएको पनि बताए ।

कार्यक्रम संयोजक एनआरएनए यूके उपाध्यक्ष दीपक श्रेष्ठले स्वागतसहित कार्यक्रम उद्देश्यबारे प्रकाश पारे । विवाद पञ्चात एनआरएनए यूकेलाई केन्द्रबाट मान्यता पाएको सन्दर्भ जोड्दै श्रेष्ठले एनआरएनए यूकेको आर्थिक हिनामिना सम्बन्धमा भइरहेका भ्रम निवारण गर्ने पनि कार्यक्रमको उद्देश्य रहेको प्रष्टयाए ।

दुई चार व्यक्तिले संघको कोषमा भ्रष्टाचार गरयो भन्दैमा त्यसको विश्वास नगर्न पनि उनले आग्रह गरे ।