माइती देश विपतमा पर्दा धेरै रोएँ : विपना थापा

BipanaThapa

देश भूकम्पले क्षतबिक्षत भएको बेला यतै बस्ने सुपरस्टारहरु तात्तिन समय लाग्यो । तर, विवाह गरी भारत बस्न थालेकी विपना थापा भने राहत सामग्री जुटाउन निक्कै सक्रिय रहिन् । र, तीनवटा ट्रकमा लत्ताकपडा र एउटा सानो भ्यानमा औषधोपचारका सामग्रीसहित माइती आइन् । मथुरा जिल्लामा हो घरजम भएको । पति डा.आशुतोष भारद्वाज त्यहाँको कंग्रेस आईसम्बद्ध युवा परिषद्को पहिला डिस्ट्रिक्ट प्रेसिडेन्ट थिए । अहिले कंग्रेस आई, मथुरा जिल्ला परिषद्कै महामन्त्री छन् । श्रीमती शारदादेवी सोसियल फाउण्डेशनका नाममा उनले भूकम्पपीडितलाई राहत वितरण गरेकी हुन् ।
मेरो माइती देश भूकम्पको बिपत्तिमा छ । माइतमा परेको बिपत्तिप्रति परदेशमा बस्ने चेलीको मन सधैँ रुन्छ । म यो बिपत्तिमा धेरै रोएँ । श्रीमानले मलाई सान्त्वना र हौसला दिनुभयो ।

० एकाएक शारदादेवी फाउण्डेशनबाट राहत बाँड्दाबाँड्दै काठमाडौंमा भेटियो नि ?
– छोरी मान्छेका दुई आमा हुन्छन्, एउटा जन्म दिने र अर्को कर्म दिने । मलाई जन्माउने आमा यतै काठमाडौंमा हुनुहुन्छ, कर्म दिने आमा हुनुहुन्थ्यो, श्रीमती शारदादेवी भारद्वाज । चार वर्षअघि सासूको निधन भयो । र, उहाँकै नाममा हामीले यो फाउण्डेशन बनाएका हौँ, तीन वर्षपहिले । यसले सामाजिक क्षेत्रका विभिन्न कामको साथै अपाङ्ग र अशक्त बालबालिकाको शिक्षा र पालनपोषणमा काम गर्छ ।

० फाउण्डेशन तीन वर्षअघि बन्यो, तर माइत फर्किने साइत अहिले जुर्‍यो ?
– मेरो माइती देश भूकम्पको बिपत्तिमा छ । माइतमा परेको बिपत्तिप्रति परदेशमा बस्ने चेलीको मन सधैँ रुन्छ । म यो बिपत्तिमा धेरै रोएँ । श्रीमान्ले मलाई सान्त्वना र हौसला दिनुभयो । र, आमाको नामको फाउण्डेशनबाट भूकम्पबाट प्रभावित नेपालीको राहतका लागि हामी जुट्यौँ । फाउण्डेशनको अध्यक्ष उहाँ (पति) हुनुहुन्छ । भारतमा यस्तो फाउण्डेशन बनाउनु नेपालमा जस्तो सजिलो छैन । सातवटा प्रदेशका प्रतिनिधि हुनुपर्छ ।
सुरुमा हाम्रै्र घरका सदस्यहरु संलग्न हुनुभएको शारदा गु्रुप अफ इण्डष्ट्रिजबाट राहतका केही सामान संकलन भयो । यसपछि मेरा श्रीमान्ले आफ्नै रकमबाट केही सामान खरिद गर्नुभयो । ‘पञ्जाब केशरी’ पत्रिकामा समाचार पनि छापियो, ‘नेपालके लिए तडप उठी काठमाण्डूकी बेटी और मथुराकी बहु सुपरस्टार विपना’ शीर्षकमा । यसपछि त्यहाँका थुप्रै शुभचिन्तकले हाम्रो घरमै आएर आ–आफ्नो तर्फबाट राहतका सामान दिनुभयो । तिनै सामान लिएर आएकी हुँ । म खुशी छु, कर्मघरकी आमाको नामको फाउण्डेशनबाट जन्मघरका आफन्तलाई सहयोग गर्न पाउँदा ।

० के–के सहयोग गर्नुभयो ?
– पहिला दुई ट्रक खाद्यान्न र औषधीका सामान पठायौँ । त्यो नेपाल सरकारले पाउने गरी पठाएका थियौँ । सामान काठमाडौं पुग्यो र बुझिलिएको रसिद पायौँ ।

‘पञ्जाब केशरी’ पत्रिकामा समाचार पनि छापियो, ‘नेपालके लिए तडप उठी काठमाण्डूकी बेटी और मथुराकी बहु सुपरस्टार विपना’ शीर्षकमा । यसपछि त्यहाँका थुप्रै शुभचिन्तकले हाम्रो घरमै आएर आ–आफ्नो तर्फबाट राहतका सामान दिनुभयो । तिनै सामान लिएर आएकी हुँ ।

० सामान पठाएर आफू बेग्लै आउनुभयो ?
– भूकम्पका कारण थुप्रै मान्छे काठमाडौं छाडी आ–आफ्नो थलोमा फर्किएको समाचार पढेपछि मेरो मन झन् खिन्न भयो । जतिबेला काठमाडौंलाई दुःख परेको छ, त्यस्तो बेला बाहिरबाट काठमाडौं आएका मान्छे आ–आफ्नो ठाउँमा फर्किएको कुरा सुन्दा रोएँ । म काठमाडौंमा जन्मिएकी छोरी भएकोले पनि होला, बरु सडक र पेटीमा बास बस्छु तर काठमाडौंचाहिँ जसरी पनि जान्छु भन्ने अठोट लिएँ ।

अनि तीन ट्रक लत्ताकपडा लिएर श्रीमान्को साथमा आएँ । मैले आफ्नै माइती गाउँ, कलंकीको स्युचाटार, पुरानो नैकापबाट राहत वितरण सुरु गरेँ । भक्तपुरको बालुवापाटीमा ६ सय ५० घर ध्वस्त रहेछन् । त्यहाँ अरुको राहत पुगेको रहेनछ । मैले त्यहाँको १, २, ४ र ६ नं. वडाका बासिन्दालाई राहत बाँडे । त्यहाँका बासिन्दाहरु मलाई देखेर निक्कै खुसी हुनुभयो । फर्किनेबेला कतिपय वृद्धवृद्धाले रोएर बिदाइ गर्दा मेरो मन थामिएन ।

० यसपालि काठमाडौंमा होटलका बुकिङ बन्द थियो । कहाँ बस्नुभयो ?
– होटलहरु असुरक्षित छन् भन्ने सुनेका थियौँ । यसै पनि काठमाडौंमा आएर होटलमा बस्दैनथ्यौँ । स्युचाटारको माइतीघर, जहाँ मेरो मम्मी बस्नुहुन्छ, त्यहीँ हो बसोबास हुने तर भूकम्पले माइतीघर चर्किएको छ । तीन तले घर छ त्यो । अलिक तल ठूली दिदीको घर छ, एलआरआई स्कुलअगाडि । एकतले । घर छेउको बारीमा टेन्ट लगाएर उहाँहरु बस्नुभएको थियो । हामी पनि बारीकै डिलमा बस्यौँ ।

० दुःख भएन ?
– हामी रमाइलो गर्न आएका थिएनौँ, दुःखमा परेका माइतीको राहतका लागि आएका हौँ । म त्यही गाउँमा जन्मिएको, हुर्किएको मान्छेलाई त्यस्तो बसाइ राम्रो लाग्यो । श्रीमान्लाई सोधेँ, उहाँले पनि सन्तोष व्यक्त गर्नुभयो । मुख्य कुरा हामी काठमाडौँ आयौँ । मथुराबाट हिँड्ने बेला सकुशल फर्किन सक्दैनौँ भनेर आफन्तहरुले पीर गर्नुभएको थियो । तर, हामीलाई केही भएन । बरु, पीडितलाई राहत बाँड्ने काम गरेर सन्तुष्टी मिल्यो ।

० यस्तो काम गर्ने प्रेरणा कहाँबाट मिल्यो ?
– म जतिबेला नेपालको व्यस्त कलाकार थिएँ, त्यतिबेलै पनि भन्ने गर्थें, ‘कमाएको पैसाले समाजसेवा गर्छु ।’ आफ्नै कमाईको पैसाले समाजसेवा गर्न त पाइएन, तर मलाई असाध्यै माया गर्नुहुने सासूआमाको नामको फाउण्डेशनबाट मेरो पतिको प्रेरणाले यस्तो काम गर्न पाएकी छु, खुशी छु ।

० यस्तो काम गर्न मज्जा कि व्यापार गरेर पैसा कमाउन मज्जा ?
– आफूले कमाएर खाएको, लाएको कुराले आफ्नो परिवार खुशी होला, मान्छेहरुले हेर्दा राम्रो देख्लान् । तर, त्यस्ता मान्छे मरेर गएपछि दुनियाँले सम्झनुपर्ने कुनै कारण बाँकी रहँदैन । समाजका लागि केही गर्न सक्यो, गरिब र असहायका दुःखको आँशु पुछ्न सक्यो भने मरेर पनि बाँचिरहन्छौँ । त्यसैले मरेर पनि बाँच्नका लागि यस्तो काम गर्दैछु ।

० नेपाल आएको बेला को–कोसँग भेट भयो ?
– भेटघाटको उद्देश्यले आएका थिएनौँ । आएको बेला राष्ट्रपतिज्यूसँग भेट्ने चाहना भयो । टाइम मागेको, बोलाउनुभयो । धेरै खुशी लाग्यो । म पनि पहिला नेपाली कांग्रेसकी शुभचिन्तक, बुबा त पार्टीको नेता । राष्ट्रपति पार्टीमा हुनुहुँदादेखिकै चिनजान थियो ।

म यसरी राहत लिएर आएको कुरा सुनेर खुशी हुनुभयो । ‘परापूर्वककालमा हामीले जनकपुरकी छोरी सीतालाई अयोध्या नरेश दशरथपुत्र रामचन्द्रसँग विवाह गरिदियौँ, अहिले काठमाडौंकी छोरी विपनालाई मथुराका युवा नेता डा.आशुतोषसँग विवाह गरिदियौँ । तिमीले पनि छोरी भएर कर्तव्य पालना गर्‍यौ, धन्य छ्यौ’ भन्दै धाप मार्नुभयो । हामीले प्रधानमन्त्री सुशील दा’सँग पनि भेट्न चाहेका थियौँ । तर, उहाँ निक्कै व्यस्त हुनुहुुँदोरहेछ ।

० अरु साथी कोही भेट्नुभएन ?
– राहत लिएर आएको सुनेपछि केही पत्रकार साथी आउनुभयो । हामी राहत बाँड्नमै व्यस्त भयौँ । काठमाडौंकी मेरी मिलनसार साथीमध्येकी हो, सरिता लामिछाने । ऊसँग पनि भेट्न मुस्किल भयो । फर्किने दिन आधा घण्टाको टाइम निकालेर उसकहाँ खाना खाएँ ।

० नेपाली कलाकारले पनि आ–आफ्नो पैसा उठाएर भूकम्पपीडितका लागि काभ्रेमा घर निर्माण गरिदिए । तपाईंलाई त्यसमा सहभागी हुन मन लागेन ?
– मन नभएर होइन, समय नभएर पुराना साथीहरुसँग भेट्न पाइनँ । उहाँहरुले घर बनाएको सुनेँ । खुशी लाग्यो । सहभागी हुन नपाएकोमा दुःखी छु । फेरि–फेरि आउँदा हातेमालो गर्ने नै छु ।

० अब नेपाली फिल्ममा फेरि देखिने विचार छ कि ?
– छोरा कुशाग्र बल्ल स्कुल जाने उमेरको भयो । उसलाई अलिक ठूलो बनाएपछि केही फुर्सद मिल्छ । त्यसपछि मात्रै त्यस्तो कुरा सोच्न सकिन्छ । फेरि एउटी हिन्दू संस्कार भएकी नारीका आ–आफ्नै पारिवारिक अभिभारा हुन्छन्, जिम्मेवारी हुन्छन् । घरायसी जिम्मेवारी र दायित्व पूरा गर्नुपर्छ भन्ने कुरालाई पहिलो महत्व दिन्छु । यसपछि अरु कुरा सोच्छु ।

फिल्मी संसारले एउटा नाम र इज्जत दियो, त्यस्तो मान्छेले आफ्नो धरातललाई बिर्सिएर वा छोडेर कतै जाने कुरा सोच्न पनि सक्दैन । म सोच्दैछु कि, नेपाली फिल्म क्षेत्रलाई मेरो तर्फबाट केही न केही योगदान गरौँ ।

० त्यत्ति मन छैन, नेपाली फिल्ममा फर्किन ?
– एकदम धेरै मन छ । मेरो श्रीमान् पनि नेपाली फिल्मको निर्माता हुनुहुन्छ । त्यही फिल्म बनाउने क्रममा भेट भएको हो । उहाँ पनि मलाई नेपाली फिल्ममा ‘कमब्याक’ भएको हेर्न रुचाउनुहुन्छ । तर, समय र परिस्थितिले साथ दिएको छैन ।

० आजकलको नेपाली फिल्महरु कस्तो लाग्छ ?
– म उता बस्छु, यताको फिल्म त्यति धेरै हेर्न पाइँदैन । तर, अहिले हाम्रो फिल्म इण्डष्ट्री धेरै विकास भएको छ भन्ने सुनेकी छु । म, जसलाई यहाँको फिल्मी संसारले एउटा नाम र इज्जत दियो, त्यस्तो मान्छेले आफ्नो धरातललाई बिर्सिएर वा छोडेर कतै जाने कुरा सोच्न पनि सक्दैन । म सोच्दैछु कि, नेपाली फिल्म क्षेत्रलाई मेरो तर्फबाट केही न केही योगदान गरौँ ।

जनआस्था साप्ताहिकबाट