राहत सामाग्रीमा कसरी भ्रष्टाचार गर्ने भन्नेमा मात्र सरकारको हात बढ्यो

index

महाभूम्पबाट उत्पन्न विपद्मा सरकारले गरिरहेको कामकारवाहीलाई राप्रपा नेपालले कसरी लिएको छ ?
बैशाख १२ गते आएको विनाशकारी महाभूकम्पबाट धेरै जनधनको क्षति भएको छ । अहिले पनि त्रासदीको अवस्था कायमै छ । यो स्थितिमा स्वभाविक रुपमा जनताले सरकारसँग राहतको अपेक्षा गर्छन । भत्केका, बिग्रेका आफ्ना घरहरु निर्माण, पुनर्निर्माण र पुनःस्थापनको खोजी गरिरहेको छन । यत्रो समय वितिसक्दा पनि सरकारले जुन ढंगबाट नेपाली जनतालाई राहत उपलब्ध गराउनु पर्दथ्यो । जुन ढंगबाट उद्दार कार्य गर्नुपर्दथ्यो । ती केहीपनि काम गर्न सकेको छैन ।
नेपाली जनता र दातृ निकायबाट सहयोगको हातहरु बढिरहेको छ । तर सरकारले सहयोग समेत लिन सकेको छैन । उद्दार र राहत दुवै कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन सकेन । कति मानिसको ज्यान गयो, कति अंगभंग भए, कति विस्थापित भए भन्ने तथ्याङ्क समेत सरकारले निकाल्न सकेको छैन । सरकार भिजनविहीन अवस्थाबाट गुज्रिरहेको हामीले देखिरहेका छौँ ।

त्यही भएर होला अहिले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा उठिरहेको छ ? यसमा तपाईहरुको धारणा के ?
भूकम्पको कारणबाट उत्पन्न आपतकालिन भयावह स्थितिलाई सामान गर्न सक्ने दह्रो र बलियो सरकारको खोजी नेपाली जनताले गरिरहेका छन । भूकम्प गइसकेपछि राहतका सामाग्रीहरु अनुदान दिने, सहयोग गर्ने क्रममा पनि सरकारले आफ्नो उपस्थिति देखाउन नसकेको कारणबाट सरकारले खडा गरेको प्रधानमन्त्री राहत कोषमा पैसा पठाउन कुनै पनि संघसंस्था, कुनै पनि सरकार र नेपाली जनता पनि तयार छैनन । त्यसकारण राहत कोषमा अत्यन्त न्यून मात्रामा सहयोग जुटेको छ । नेपाली जनता र विश्व समुदायमा पनि सरकारको विश्वसनीयता समाप्त भएको छ ।

अर्थमन्त्रीकै स्वकीय सचिव राहतको जस्तापाता विक्रीमा सम्लग्न भएको भन्ने समाचारहरु पनि आए । त्यसैको कारण उहाँले राजीनामा पनि दिनुभयो । यसलाई कसरी लिने ?
यो अत्यन्तै दुर्भाग्यको विषय हो । मानवीय सम्वेदनामा पनि आर्थिक उपार्जनको निम्ति बेचबिखन गर्ने जुन सोच आएको छ । यो आफैँमा खेदपूर्ण छ । यसको भत्र्सना गरेर पनि नसकिने अवस्था छ । अर्थमन्त्रीको पिएको विषयमात्र होइन, बंगलादेशबाट आएको दश हजार मेट्रिकटन चामल मध्ये आधा बेचबिखन भएको छ । त्यो कहाँ बिक्री भयो थाहा छैन । अहिले व्यापक भ्रष्टाचार भएको छ । चरम अनियमितता भइरहेको छ । राहतको सामाग्री विमानस्थल र सीमा नाकामा आएर थुप्रिएको छ । त्यसलाई कहाँ पु¥याउने, कसरी पु¥याउने भन्ने विषयमा पनि कुनै गृहकार्य भएको मैले देखिरहेको छैन । कतिपय सामानहरु सडेर गएको अवस्था छ । कतिपय औषधि मिति गुज्रिसकेका छन । घ्यू, तेल पनि अखाद्य भेटिएको छ । भूकम्पले त्रासदीपूर्ण जीवन विताइरहेको अवस्थामा सडेको, गलेको अखाद्य चीजहरु खुवाएर ज्यानै जाने स्थिति आउँदा समेत सरकार चनाखो हुन नसक्नु र त्यस्ता अखाद्य बस्तुको वितरणमा रोक लगाउन नसक्नु सरकारको अकर्मन्यता, असक्षमता, अनुत्तरदायी र गैरजिम्मेवारीपन हो । सरकारको उपस्थिति कहिकतै पनि देखिदैन । राहत सामाग्रीमा कसरी फेरि भ्रष्टाचार गर्ने भन्नेमा मात्र सरकारको हात बढेको हामी देखिरहेका छौँ ।

तपाईले भनेका अनेकौँ विकृति रोक्न र जनताको पक्षमा काम गर्न राप्रपा नेपाल राष्ट्रिय सहमतिको सरकारमा जान तयार छ ?
सरकारको उपस्थिति जुन ढंगबाट हुनुपर्दथ्यो । त्यो शुन्य अवस्थामा रहेकै कारणले यतिबेला राष्ट्रिय सहमतिको सरकार गठनको कुरा उठेको हो । राष्ट्रिय, अन्तर्राष्ट्रिय दृष्टिकोणले पनि यो सरकारको विश्वसनीयता समाप्त भइसकेको कारणले विकल्पको खोजी भइरहेको छ । त्यसैले एउटा बलियो सरकार गठन हुनुपर्छ भन्ने राप्रपा नेपालको स्पष्ट दृष्टिकोण छ । तर जहाँसम्म सरकारमा जाने÷नजाने भन्ने कुरा औपचारिक ढंगले निर्णय गरेको छैन । सरकार बनाउने कुरामा राप्रपा नेपालको कुनै भूमिका हुँदैन । ठूला भनिएका दलहरुले राष्ट्रिय सरकार निर्माणको पहल गर्नुपर्ने हुन्छ । हामीसँग उनीहरुले यस विषयमा छलफल नगरेको हुनाले हामीले सरकारको विषयलाई प्राथमिकतामा राखेका छैनौँ । हाम्रो मुख्य प्राथमिकता भनेको संविधान निर्माण हो । संविधान निर्माण नभएको कारणबाट मुलुकले स्पष्ट राजनीतिक बाटो लिन सकिरहेको छैन । नेपालमा दीगो शान्ति पनि स्थापना हुन सकेको छैन । समृद्धिको ढोका पनि अल्मलिएर बसेको हुनाले संविधान निर्माणको विषयलाई राप्रपा नेपालले उच्च प्राथमिकता दिएको छ । संविधान बनाउन र विपद्लाई सामना गर्न बलियो सरकार निर्माण गर्नुपर्छ ।

संविधान निर्माणको क्रममा उत्पन्न विवादित विषयमा सहमति जुटन नसकेको अवस्थामा तत्काल कसरी बन्छ नयाँ संविधान ?
विवादरहित विषय भएको भए सायद संविधान सभाको निर्वाचन आवश्यक पर्दैनथ्यो । संविधान निर्माण गर्ने विषयमा नेपाली जनताको विभिन्न दृष्टिकोण आएको छ । संविधान निर्माणको सन्दर्भमा सवै दलहरुले आ–आफ्नो अवधारणा प्रस्तुत गरेका छन । तर संविधान निर्माण गर्नका निम्ति संविधान सभा र अन्तरिम संविधानले नियमावली तयार गरेको छ । त्यो नियमावलीलाई प्रक्रियागत ढंगबाट अगाडि बढाउने हो भने उत्कृष्ट र विशिष्ठ संविधान बन्न सक्छ । राप्रपा नेपाल प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी भएको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट संविधान निर्माण गर्नुपर्दछ भन्ने हाम्रो दृष्टिकोण रहेको छ । र नियमावली अनुसार संविधान बनाउन हामी लागिपरेका छौँ ।

भनेपछि राजविनाको संविधान बन्यो भनेपछि राप्रपा नेपालले स्वीकार्छ ?
विक्रम सम्वत २००७ सालदेखि अहिलेसम्म पनि स्थायी प्रकृतिको राजनीतिक पद्धतिले स्वरुप ग्रहण गर्न नसक्दा नेपालमा नयाँ संविधानको आवश्यकता परेको हो । र संगसँगै २१ औँ शताब्दीमा पनि नेपाली जनताको आर्थिक स्थिति र सामाजिक अवस्था अत्यन्तै जीर्ण छ । त्यसकारण मुलुकमा स्थायी प्रकृतिको राजनीतिक पद्धति स्थापित गर्ने र त्यो राजनीतिक पद्धतिको सीमा भित्र रहेर नेपाली जनताको समृद्धिको ढोका खोल्ने लक्ष्य लिएर संविधान सभा बनेको छ । नेपालमा दीगो शान्ति स्थापना गर्न, प्रजातान्त्रिक पद्धतिलाई सुदृढ गर्न, नेपाली जनताको समृद्धिको ढोका खोल्न राप्रपा नेपालले राजासहितको प्रजातन्त्र र नेपाली जनताको पहिचानलाई स्थापित गर्न सर्वधर्म समभाव सहितको धार्मिक स्वतन्त्रताको विषय उठाएको छ । नेपाली जनतालाई अधिकार सम्पन्न गराउन स्वायत्त शासन व्यवस्था अवलम्बन गर्ने विषय अगाडि सारेका छौँ । जात, भाषा र धर्मको आधारमा प्रदेश निर्माण गरेर नेपालको स्वाधिनता, नेपाली जनताको एकता, सामाजिक सदभावलाई खलल पु¥याउने र नेपालको अखण्डतालाई चकनाचुर पार्ने प्रकारको कामहरु गर्न हुँदैन भन्ने राप्रपा नेपालको स्पष्ट दृष्टिकोण रहेको छ । त्यही ढंगबाट हामीले हाम्रो मुद्धालाई सशक्त ढंगले अगाडि बढाइरहेका छौँ । यसैकारण राप्रपा नेपालप्रति आम जनताको विश्वास बढीरहेको छ । अहिलेको संविधान सभामा चौथो शक्ति बनेबाट यसको स्पष्ट हुन्छ ।

राप्रपा नेपालले पूर्वपञ्च पार्टीहरुसँग एकताको कुरा अगाडि बढाएको थियो । प्रक्रिया कहाँ पुग्यो ?
राप्रपा नेपाल पूर्वपञ्चहरुसँग कुनै पनि प्रकारले आवद्ध भएको पार्टी होइन । यो पार्टी ६३÷६३ को आन्दोलनपश्चात नयाँ दृष्टिकोण, नयाँ अवधारणा, नयाँ सोच बोकेर हिडेको पार्टी हो । त्यतिेबेला सवै दलहरु गणतन्त्रको पक्षमा लागेका थिए । हामीले हाम्रो अडान नछोडी आफ्नो भिजनसहित छुट्टै ढंगले अगाडि बढ्यौँ । नेपालको राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रता, अखण्डता र प्रजातान्त्रिक पद्धतिलाई सुदृढ गर्दै नेपाली जनताको समृद्धिको ढोका खोल्न नयाँ विचारबाट अगाडि बढ्नुपर्दछ भनेर हामीले विषय उठाएका छौँ । हाम्रो मुद्धाप्रति आकर्षण, विश्वास भएका केही दलहरु राप्रपा नेपालसँग एकीकृत भएर नयाँ ढंगबाट अगाडि बढ्ने प्रयासहरु भइरहेको छ । निकट भविश्यमा त्यसले औपचारिकता ग्रहण गर्नेछ भन्ने विश्वास लिएको छु ।

महाभूकम्पपछिको जनताको पीडामा राप्रपा नेपालले कसरी मलम लगाउने काम गरिरहेको छ ?
अकल्पनीय ढंगबाट त्रासदीपूर्ण रुपमा महाभूकम्पले जुन पीडादायी स्थिति सिर्जना ग¥यो । त्यसपछि पार्टीका अध्यक्ष कमल थापाज्यूको नेतृत्वमा कार्यसम्पादन समितिको बैठक राखेर उद्दार र राहतको विषयमा निर्णय ग¥यौँ । घाइतेहरु अस्पतालभर थिए । रगतको अभाव हुने सम्भावनालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको श्री गणेश ग¥यौँ । खानेपानीको व्यवस्थापनमा सहयोग ग¥यौँ । अध्यक्षज्यूको नेतृत्वमा १४ वटा टीम खडा गरेर भूकम्पप्रभावित क्षेत्रमा पुगेर हामीले जनताको पीडामा मलम लगाउने काम ग¥यौँ । उपाध्यक्षज्यूहरु र केन्द्रीय समितिका साथीहरु जिल्लाजिल्लामा खटिनुभयो । म आफैँपनि गोरखा पुगेर राहत वितरण गरेँ । हामीले श्रम शिविरको कार्यक्रम पनि सञ्चालन ग¥यौँ । अब हामी युवाहरुलाई स्वयंसेवकको रुपमा तयार पारेर स्थायी घर बनाउने गरी काममा लगाउँदै छौँ ।

सम्पूर्ण सभासदहरु भूकम्पप्रभावित क्षेत्रमा खटिएका छन । त्यसकारण संविधान सभाको बैठक पनि स्थागित हुँदै आएको छ । तर यसमा राप्रपा नेपालले आपत्ति जनायो किन ?
संविधान निर्माण गर्ने विषयमा संविधान सभा भित्रका सवै दलहरुका आ–आफना अवधारणहरु छन । राप्रपा नेपाल एउटा फरक मत र फरक विचार बोकेर हिडेको पार्टी हो । संविधान सभा जस्तो प्रजातान्त्रिक संस्थामा सवै दलहरुको आ–आफो विचार प्रस्तुत गर्ने र विधि र प्रक्रियाबाट संविधान निर्माण गर्ने क्रममा अगाडि बढ्नुपर्छ भन्ने सोचका साथ हामी अगाडि बढिरहेका छौँ । खासगरी नेपाली कांग्रेस र एमाले लगायतका केही दलहरुले राप्रपा नेपालले उठाएको मुद्धालाई प्रश्नगत रुपमा पनि संविधान सभामा राख्न नपाउने निरंकुशता, अप्रजातान्त्रिक शैलीबाट निर्णय गरे । त्यो दुर्भाग्यपूर्ण छ । त्यसकारण संविधान सभामा हामीले अवरोध सिर्जना ग¥यौँ । बहिस्कार पनि ग¥यौँ । अब हाम्रो मुद्धालाई सशक्त ढंगबाट संविधान सभामा उठाउने छौँ । त्यसैकारणले आज (बिहीबार) पार्टी अध्यक्षको नेतृत्वमा कार्यसमिति र संसदीय दलको संयुक्त बैठक राखेर निर्णय गरेका छौँ ।

अन्त्यमा ?
विपदमा परेका नेपाली जनताको राहतको निम्ति पनि छिटोभन्दा छिटो संविधान निर्माण गरियो भने आधा राहतको काम स्वतः सकिन्छ । त्यसैले संविधान निर्माणको प्रक्रियालाई पनि अगाडि बढाउने, सम्पूर्ण नेपाली जनता एकजुट भएर विपदको सामान गर्ने क्रममा लाग्नुपर्छ । यो अहिलेको अवश्यकता हो भन्ने हामीलाई लागेको छ ।