तुयुमति शो फेब्रुअरी २८ मा नेपालीमा प्रदर्शन हुँदै

tuyumati1लण्डन । एक साताअघि लण्डनमा सम्पन्न प्रिमियरमा वाहवाही बटुल्न सफल नेपाल भाषाको चलचित्र तुयुमति अब नेपाली भाषामा समेत प्रदर्शन गरिने भएको छ । यहि फेब्रुअरी महिनाको २८ तारिख आइतबार सांझ लण्डनको  उलविचस्थित  वेल्लिङ्टन स्ट्रीट ,टाउन हलमा तुयुमतिलाई अंग्रेजी सबटाइटलसहित नेपाली भाषामा प्रदर्शन गर्न लागिएको हो ।

 

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)को व्यवस्थापनमा हुन लागेको शो सांझ ६ बजे सुरु हुनेछ । झण्डै दुई घण्टा लामो चलचित्र सकिएपछि दर्शकहरुको मनोरञ्जनका लागि राती अबेरसम्म डिजे कार्यक्रम समेत राखिएको छ ।

 

चलचित्र हेर्नका लागि १० पाउण्डको टिकट तोकिएको छ । शोको टिकट बिक्रीबाट संकलन हुने रकम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनासले सञ्चालन गर्ने रंग यात्रा अभियानमा खर्चिने योजना रहेको चलचित्रका मुख्य कलाकार तथा कथाकार मनिष श्रेष्ठले जानकारी दिए । बेलायतमा हुर्किदै गरेको नयां नेपालीपुस्तामाझ नेपाल कला र संस्कृति जिवन्त राख्ने प्रयत्नस्वरुप नेपाली संगीत, नृत्य, नाटक र चलचित्रका विभिन्न प्रस्तुतिसंगै रंगयात्रा सञ्चालन गर्ने तयारीमा ईनास छ ।

 

यसअघि गत जनवरी ३१ तारिखका दिन लण्डनको ह्यारोस्थित सफारी सिनेमामा तुयुमतिको रेड कार्पेट प्रिमियर गरिएको थियो । पासा पुच गुठी यूकेको संयोजनमा गरिएको शोमा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी, कलाकार, पत्रकार, बुद्धिजिबी लगायत सयौंको संख्याका दर्शक सहभागी भएका थिए ।

 

नेपाली समाजभित्रको पछिल्लो वास्तविकतालाई जस्ताको तस्तै देखाइएको भन्दै चलचित्र हेर्ने अधिकांशले तुयुमतिको खुलेर प्रशंसा गरे । गहन विषयवस्तु, हरेक पात्रलाई न्याय हुने गरी कलाकारहरुले गरेको जिवन्त अभिनय र नेवारी तथा नेपाली संस्कृतिका विभिन्न आयामहरुको कलात्मक प्रस्तुति जस्ता आधारमा तुयुमतिले प्रिमियरमै गतिलो प्रशंसा बटुल्यो ।

 

जुनसुकै मुल्य चुकाएर पनि विदेशतर्फ हानिनुपर्ने नेपाली समाजभित्रको नियतिको विषयमा चलचित्र तुयुमति बनेको छ । नेपालमै रहंदा देखिने विदेश र विदेशमा पुगिसकेपछि भोग्नुपर्ने वास्तविकताबीचको ठूलो भिन्नतालाई निकै सरल र कलात्मक रुपमा तुयुमतिले देखाएको छ ।

 

आर एम नकर्मीको निर्देशन तथा अनु श्रेष्ठको निर्माण रहेको चलचित्रका सहनिर्माता दीपक श्रेष्ठ र देवेन्द्र श्रेष्ठ हुन । चलचित्रका मुख्य कलाकार मनिष श्रेष्ठले नै तुयुमतिको कथा लेखेका हुन भने उनीबाहेक मदनकृष्ण श्रेष्ठ, अर्णेश्वरी शिल्पकार, राजाराम पौडेल, सबिन शाक्य, हिसिला महर्जन, मणिराज लवट, राजेन्द्र खड्गी, सुशिल प्रजापति, गणेशराम लाछी, विष्णु प्रजापति, रामकृष्ण शिल्पकार, विनोद चिपालु, अनु श्रेष्ठ, आयुष्मा श्रेष्ठ, मार्ता हाक्युन्स, यादव भण्डारी लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन ।

tuyumati2