संगीत क्षेत्रमा नयां प्रतिभालाई ठगिन्छः राज खड्का

raj1तपाईंको सांगीतिक यात्रा कसरी शुरु भयो ?

म सानैदेखि संगीतमा रुची राख्थें । तर, आफूले सोचे सजिलो पनि थिएन । ढिलै भएपनि २० वर्षको उमेरमा म्यूजिक स्कुलमा भर्ना भएपछि यात्रा अघि बढ्यो । समयक्रममा यो क्षेत्रबारे बुझ्दै गर्दा अहिले सबैले कलाकार पो भन्न थाले ।

तपाईंको पहिलो कोसेली कुन हो ?

कलेक्सन एल्बममा त २, ४ वटामा लोकगीत गाएको थिएं । तर, आफ्नै चाहिं प्रेम सराप नामक गीत नै पहिलो हो ।

यस क्षेत्रमा भोग्नु परेका सहज असहज पाटो बताइदिनुस् न ?

सहज असहज आफूमा भर पर्ने कुरा हो जस्तो लाग्छ मलाई । हरेक कामलाई सहज रुपमा लिन सक्यो भने सजिलै गर्न सकिन्छ । असहज कुरा गर्दा नयांहरुलाई यो क्षेत्रमा अलि हेप्ने, ठग्ने गरिंदो रहेछ ।

कलाकारितामा लागेर बांच्न कत्तिको सहज छ ?

एकदम कठिन छ, झन् म जस्तो संघर्षरत कलाकारलाई । मेरो विचारमा भित्र हजारौं दुःख लुकाएर अरुलाइ खुसी बनाउने प्रयत्नमा हुन्छन् धेरै कलाकार ।

आफंै अभिनय गरेर दृश्यमा खेल्नुहुन्छ कि निर्देशकको आदेशमा ?

अभिनयमा पक्कै पनि निर्देशकको आदेश लाई फलो गर्नुपर्ने हुन्छ । त्यसैले निर्देशक कै आदेशमा काम गर्छु ।

मन पर्ने गायक गायिका वा मोडल ?

मनपर्ने गायक प्रमोद खरेल, गायिका अन्जु पन्त, मोडल पुष्प खड्का र केकी अधिकारी छन् ।

कस्तो मुडमा गाउन अथवा अभिनय गर्न मनपर्छ ?

मलाई गाउन कुनै मुड चाहिंदैन । हरेक समय जुनसुकै ठाउंमा म गुनगुनाइ रहेको हुन्छु । अभिनय गर्न चाहिं मलाई सबैले काम मै ध्यान दियो र दायांबायां गरेन भने क्यारेक्टरमा डुब्न सहज लाग्छ ।

अभिनय गर्न वा गीत गाउन कुन सहज लाग्छ ?

दुवै उत्तिकै गार्हो छ । तर, अभिनय को तुलनामा गीत गाउन अलि गार्हो छ ।

केटी साथी कत्तिको बनाउनु भएको छ ?

केटी साथीको मामलामा म अलि फरक छु । केटी साथी त धेरै छन् तर कोही कोहीसंग असाध्यै मिल्छु तर म नजिक चाहिं हुंदिन । मेरो त्यो बानी धेरै मन पराउने केटी साथीहरू पनि छन् । कसैलाई चाहिं मन पर्दैन रहेछ कुरा गर्नै मान्दैनन् ।

सेक्स र प्रेमबारे तपाईंको बुझाइ के छ ?

सेक्स जिवित प्राणीका लागि अपरिहार्य कुरा हो भने प्रेम सुःख दुःख पोख्ने ठाउं हो त्यसैले जसलाई प्रेम गरिन्छ त्यसलाई सबै कुरा सेयर गरिन्छ ।

नयां कलाकारको भविष्य कस्तो लाग्छ ?

मेहनतका साथ अगाडि बढ्यो भने उज्ज्वल छ नत्र अन्धकार देख्छु म त ।

नया“ पिंढीलाई के भन्नुहुन्छ ?

रहरै रहरमा मात्र लागेर हुन्न । आफू संग राम्रो प्रतिभा छ भने लहै लहैमा भन्दा सम्वन्धित ठाउंमा आएर प्रयास गर्नु भयो भने भविष्य उज्वल हुनेछ ।

आफूले मोडलिङ गरेका गीतहरु घरपरिवारसंग बसेर हेर्दा कस्तो लाग्छ ?

खुसी लाग्छ बाबा मम्मीले यहां यस्तो गर्दा ठिक हुन्थ्यो नि भनेर गल्ती औंल्याउंदै हेर्नु हुन्छ जसले गल्ती सुधार्न पाइन्छ ।

भिडियो हेरेर तपार्इंलाई कस्तो प्रतिक्रिया दिन्छन् दर्शक ?

नजिकबाट चिनेका अनि सम्वन्धित क्षेत्रका अग्रज ब्यक्तित्वबाट गल्तीहरु पनि औंल्याउनु हुन्छ अनि सुधार्ने प्रयास गर्छु । राम्रो प्रतिक्रिया पनि आउंछ ।

अर्को जुनी पाए के बन्ने इच्छा छ ?

कलाकारिता मै लागेर सुपरस्टार बन्ने इच्छा छ ।

कलाकारको पारिवारिक वातावरण सहज हुंदैन भनिन्छ, तपाईको कस्तो छ ?

म आफ्नो लागि आफैं गर्छु परिवारको आस गर्दिन । तर, सबैको त्यस्तो हुंदैन । परिवारको सपोर्ट पाएर गर्नेहरु पनि हुन्छन् तर आफैं कमाउदै संघर्ष गर्नु को मज्जै बेग्लै हुन्छ ।

परिवारसंग संगीत क्षेत्रमा लागेकै कारण कहिले विवाद भएको छ ?

बाबाले पहिले चाहिं सधैं तेरो भविष्य बिगार्ने भइस् भनेर गाली गर्नुहुन्थ्यो । तर, मलाई नसा लागिसकेकाले उहांको कुरा सुन्दैनथें । अहिले त बाबाले पनि राम्रो संग गर भन्नुहुन्छ, त्यस्तो विवाद खासै भएको छैन् ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था देखेर कस्तो धारणा उब्जिन्छ मनमा ?राजनीतिज्ञप्रति तपाईंको सुझाव के छ ?

दलहरुको भागबन्डा र कुर्सी तानातान देखेर मलाई बिरक्त लागेर आउंछ । उहांहरुलाई थोपा थोपा मिलेर सागर बन्छ भनेझैं सबै जना एकापसमा मिलेर देश विकासमा लाग्न मेरो सुझाव छु ।

भावी योजना के छ ?

नेपाली संगीत क्षेत्रमै आफ्नो तर्फबाट केही नयांपन दिने र यही क्षेत्रमै निरन्तर लागिरहन मन छ ।

एकदमै खुशी भएको क्षण ?

जब म आमाको कोखबाट जन्मिएर बुझ्ने भएं तब मेरो आमाप्रति एकदम खुसी भएको थिएं । मलाई यो धर्तीमा जन्म दिने आमाको काखमा बस्न पाएं भने अहिले पनि त्यत्तिकै खुसी हुन्छु ।

आफ्नो जिन्दगीलाई कोहीसंग साट्न पाउनुभयो भने को संग साट्नुहुन्छ अर्थात कोहीबाट प्रभावित हुनुहुन्छ ?

बलिउड स्टार शाहरुख खानको ब्यक्तित्व देखि प्रभावित भएको छु । यदि साट्न मिल्ने भए उहां संगै साट्ने थिएं ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?

प्रश्नका लागि तपाईं जेनी भट्टराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र मलाई माया गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । साथै तपाईंहरुको माया बिना मेरो गन्तव्य अधुरो छ र अझै धेरै साथ र माया अपेक्षा गरेको छु । मेरा केही गीत संगीतहरु बजारमा छन् सुनेर हेरेर प्रतिक्रिया दिनुहोला भन्न चाहन्छु । मेरो आउने गीतहरुलाई पनि हजुरहरुले माया गर्दिनु हुन्छ भन्ने आशा लिएको छु । धन्यवाद ।

लण्डन नेपाल न्यूज डट कमका लागि जेनी भट्टराई सँग को अन्तर्वार्ता