एकीकृत नेकपा माओवादीका शीर्षनेताहरुले पार्टी छाडेर नहिँड्न असन्तुष्ट ४५ भाइलाई आग्रह गरेका छन् । विद्रोही नेतामध्येका देवेन्द्र पौडेलले चाँहि प्रचण्डले केन्द्रीय कमिटी भंग गरेको अवस्थामा सहकार्य गर्न सकिने जनाऊ दिएका छन् ।
एमाओवादीका स्थायी कमिटी सदस्य पौडेलसहित ४५ जना केन्द्रीय स्तरका नेताहरुले मंगलबार पार्टी मुख्यालयमा पत्र बुझाएर नयाँ शक्तिको अभियानमा लाग्ने घोषणा गरेपछि एमाओवादीभित्र अहिले तरंग सिर्जना भएको छ ।
पार्टी छाडेको सुन्नासाथ एमाओवादी महासचिव कृष्णबहादुर महराले पौडेललाई टेलिफोन गरेर हतारमा त्यस्तो निर्णय नगर्न र आफूसँग भेटेर छलफल गर्न आग्रह गरेका छन् ।त्यसैगरी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि पौडेललाई टेलिफोन गरेर ‘हतारो नगर्नोस्, सल्लाह गरौं’ भनेका छन् ।
उता पार्टी छाड्ने टोलीका नेता पौडेलले चाँहि सोमबार नै अध्यक्ष प्रचण्डलाई भेटेर तपाईसँग व्यक्तिगत गुनासो केही पनि छैन भन्दै अलग हुने निर्णय सुनाएका थिए ।
प्रचण्डले पौडेललाई नयाँ पार्टी बनाएर अघि बढ्न गाह्रो हुन्छ भन्दै उही पार्टीमा बसेर यसलाई रुपान्तरण गरौं भन्ने प्रस्ताव पौडेलसँग राखेका थिए । पौडेलले केन्द्रीय कमिटी भंग गरेर डा. बाबुराम भट्टराईसहित सबै माओवादीहरुलाई एक ठाउँमा ल्याउने बतावरण बनाए आफूहरु धेरै टाढा नभएको जानकारी प्रचण्डलाई गराएका थिए ।
यसै सन्दर्भमा ४५ जनाको हस्ताक्षर पेरिसडाँडामा बुझाउनासाथ एमाओवादी नेता पौडेलसँग गरेको संक्षिप्त कुराकानी यस्तो छ :
४५ भाइले प्रचण्डलाई बुझाएको वक्तव्य अनौठो देखियो, त्यसमा राजीनामा भन्ने शब्द नै छैन, खासमा तपाईहरुले एमाओवादी पार्टी छाडेको हो कि हैन ? यसलाई राजीनामा भन्दा हुन्छ ?
हामीले अनौठै बनाउन खोजेको हो । यो राजीनामा पनि होइन । वामपन्थीहरुको २००६ सालदेखिको शैली चाँहि राजीनामा दिने वा पार्टी छाडेर मान्छे लिएर गएर पार्टी घोषणा गर्ने थियो, हामीले त्यसो गरेनौं । यसै पनि माओवादी पार्टीहरु धेरै छन्, त्यसमा हामीले अलग पार्टी थप्न खोजेका होइनौं ।
तपाईहरुको वक्तव्यमा ‘प्रचण्डलाई नयाँ शक्ति बनाउने अभियानमा लाग्ने जानकारी गराउँछौं’ भनिएको छ, नयाँशक्ति निर्माण अभियानमा लाग्दा एमाओवादी छाड्ने कि नछाड्ने ?
पार्टी त अब करिब-करिब त्यो संकेत गर्छ । हामीले मूल पार्टीको पद्दति र अनुशासन भन्दा फरक प्रकारले हिँड्छौं भनेर संकेत गरेका छौं ।
अब हुने केन्द्रीय समितिको बैठकमा तपाईहरु जानुहुन्न ?
अर्को कोर्स वा अर्को अध्यायको सुरुवात गर्ने पहल भएन भने साविक बैठकमा हामी जाँदैनौं ।
एमाओवादीमा पनि नबस्ने, नयाँ पार्टी पनि नबनाउने, उसोभए तपाईहरुले गर्न खोजेको के हो ?
अब केही समय माओवादी धाराका सबै साथीहरुसँग बहस चलाएर नागरिक समाज, जनता र स्वतन्त्र प्रकारका प्रतिभाशाली युवाहरुसँग बहस चलाएर उनीहरुको सुझावमा हामीले फरक प्रकारको वैकल्पिक धार बनाउने भनेका छौं । अहिले भएकै पार्टीमा अर्को पार्टी थप्न खोजेको होइन ।
डा. बाबुराम भट्टराईको नयाँ शक्तिसँग कस्तो सम्बन्ध रहन्छ ?
बाबुरामजीले पनि अभियान चलाउनुभएको छ, उहाँको अभियानसँग हाम्रो अभियानलाई पनि जोड्ने हो ।
उहाँले केहीसमय पहिले पार्टी परित्याग गर्नुभयो । उहाँको शैली परित्याग गर्नेखालको भयो । हामीले पार्टी परित्याग वा राजीनामा भनेका छैनौं । यो नयाँ शक्ति निर्माण अभियान, जो बहसमै बाहिर आइसकेको छ । यो देशको माग हो । नयाँ शक्तिको माग थुप्रैले उठाएका छन्, बैंकर्सहरुले उठाएका छन्, मिडियाका मानिसले उठाएका छन् । यसरी विभिन्न कोणबाट उठेका नयाँ शक्तिका बहसहरुलाई एउटा नयाँ फोर्सका रुपमा संगठित रुप दिने अभियान हो यो ।
अब यो नयाँ शक्ति बाबुरामजीकै नेतृत्वमा बन्छ ?
हामीले प्रचण्डलाई दिएको पत्रको नेतृत्व बाबुरामजी गर्नुभएको छैन । यो अभियानमा जोडिने साथीहरुलाई हामी, पार्टीभित्र रहेका र बाहिरकालाई पनि जोड्दै लिएर जान्छौं । नयाँ शक्तिको प्रचारक र प्रस्तावक बाबुरामजी भएको हुनाले यसको वैचारिक नेतृत्व उहाँले गर्नुहुन्छ । र, भोलि कसले गर्छ, अहिल्यै भन्न सकिन्न ।
माओवादीबाट फुटेका अन्य गुट र तपाईहरुमा अब के फरक रह्यो र अब ?
उहाँहरुले पार्टी फोरेर त्यही माओवादी समुह नाम राख्नुभयो । हामीले केन्द्रीय कमिटी भनेर फर्मेसन गरेका छैनौं । हामी नयाँ शक्तिको बहसमा जान्छौं । र,वैकल्पिक धार बनाउने भनेको हुनाले शैलीको हिसाबले, संगठनको हिसाबले पनि यो नयाँ छ ।
तपाईहरुले मन्त्री-सन्त्री नपाएर यस्तो निर्णय गरिएको पो हो कि ?
विल्कुल होइन । त्यो निराधार कुरा हो ।
पार्टी छाड्ने यो टीममा सांसदहरु त एक जना पनि देखिएनन् नि ?
सांसदहरुलाई हामीले आउनोस् भनेकै छैन । किनभने यो पार्टी फुट होइन । मन्त्री, सांसद हुनुभएका साथीहरुसँग पनि छलफल भइरहेको छ । तर, उहाँहरुलाई हामीले प्राविधिक हिसाबले पनि र भौतिक हिसाबले पनि आउनोस् भनेका छैनौं । सरकारप्रति हाम्रो आलोचना पनि छ । सरकारमा गएर जनताका एजेण्डा समाधान हुन सक्दैन भन्ने हाम्रो धारणा छ ।
मन्त्री बनेका टोपबहादुरजी त बाबुराम समूहकै मान्छे होइन ? खोइ त उहाँ त तपाईहरुको टीममा आउनुभएन त ?
उहाँसँग कुरा भइरहेको छ । व्यक्तिगतरुपमा उहाँले आँक्ने कुरा हो, हामीले उहाँलाई पनि अपील गरेका छौं । तपाई सकारात्मक बनिदिनुपर्छ भनेका छौं । उहाँको पनि सदासयता छ ।
पार्टीको राजीनामा अध्यक्ष प्रचण्डलाई बुझाएको हो ?
हिजो विहान अध्यक्षसित कुरा भयो । तर, पत्र पार्टी कार्यालय पेरिसडाँडामा मुख्यसचिव हितराज पाण्डेलाई बुझायौं । राजीनामा भन्दा पनि नयाँ शक्तिको अभियानमा लाग्ने प्रतिवद्धता हो ।
अध्यक्षलाई किन नबुझाएको ?
विधिको हिसाबले केन्द्रीय कार्यालय नै हो नि । अध्यक्षलाई सम्बोधन गरेर संस्थागत विधि विधान अनुसार यसो गरिएको हो ।
तपाईले पार्टी छाड्छौं भन्दा प्रचण्डले के भन्नुभयो ?
हैन, यो खतराको बाटो हो, भइरहेको पार्टी छाडेर सजिलो बाटो छैन भन्नुभयो । यही पार्टीलाई चलाऔं, यसैलाई बनाऔं भन्नुभयो । ध्रुवीकरणको पहल यहीँबाट लिऔं भन्ने उहाँको कुरा थियो ।
मैले उहाँलाई भनें, यदि त्यसो हो भने कमिटीहरु भंग गरौं र हाँगा बिंगामा भएका माओवादीका लागि पनि एकताको आह्वान गरौं, यसको पहल तपाईले लिनोस् । तर, यसमा बाबुरामजीलाई पनि छाडेर हुँदैन । हामी त टाढा गएका छैनौं । मैले उहाँलाई यही भनें । संसदीय व्यवस्थाको विकल्पमा वैकल्पिक समाजवादी धार बनाऔं, त्यसमा हामी तयारै छौं ।
पार्टीबाटै अलग हुनुभन्दा यही एमाओवादीलाई नै नयाँ बनाएको भए हुँदैनथ्यो ?
अब त्यो चाँहि हामीले सम्भावना कम देख्यौं । सहजरुपमा हामीले जसरी सोचेका थियौं त्यो भएन । हामीले कमिटी भंग गरेर सबैलाई समेटेर नयाँ ढंगले जाऔं भन्यौं, तर उहाँहरुले त्यसलाई स्वीरकार गर्न, ग्रहण गर्न तयार नभएकाले कि चुपचाप लागेर बस्नुपर्यो, कि काँहि न काहिँबाट पहल सुरु गर्नुर्यो । त्यसैले हामीले पहल सुरु गर्ने भनेर यो प्रक्रिया सुरु गरेका हौं ।
भनेपछि तपाईहरुको प्रस्ताव चाँहि एमाओवादीको केन्द्रीय समिति भंग गरेर नयाँ महाधिवेशन गर्नुपर्छ भन्ने रहेछ हैन ?
यो हामीले पहिलेदेखि नै भन्दै आयौं । त्यो तयार नभएकाले हामी यो ठाउँमा पुग्नुपरेको हो । कतिपय साथीले पार्टी भंग भन्ने बुझे । पार्टी भंग होइन, कमिटीहरु भंग गरेर एकतामा आउन चाहिरहेका साथीहरुलाई सहभागी बनाएर एउटा धार निर्माण गरौं भन्ने हाम्रो कुरा थियो ।
तर, केन्द्रीय समितिका साथीहरु ठूलो कन्फ्युजमा हुनुहुन्छ, एमालेसित मिल्ने कि वैद्यहरुसित मिल्ने कि, यही पार्टी बनाउने कि, सरकार चलाउने कि । साथीहरु अलमलमा हुनुहुन्छ । मैले स्थायी कमिटीको बैठकमा केही वैचारिक कुराहरु राखेको थिएँ, हामी यस्तो गोलचक्करमा फस्नुहुँदैन । यो अलमलमा रहनु भनेको त न भाले न पोथी भनेर हिजो हामीले एमालेलाई भनेजस्तै अवस्था हो ।
अहिले पनि प्रचण्डले केन्द्रीय कमिटी भंग गर्ने, अन्य माओवादी समस्हसँग एकताको आह्वान गर्ने अनि नयाँ महाधिवेशनको घोषणा गर्ने हो भने तपाईहरु मिल्ने सम्भावना रहेछ हैन ?
अध्यक्ष प्रचण्डसँग व्यक्तिगतरुपमा हाम्रो केही पनि विमति छैन अध्यक्षलाई त २५ औं वर्षदेखि हामीले नेता मान्दै आएका हौं । बाबुराम पक्ष भनिए पनि हामीले बाबुरामलाई अध्यक्ष बनाउनुपर्छ भनेर कहिल्यै भोट हालेका पनि छैनौं । खाली बाबुरामजी पनि आन्दोलनबाट आएको व्यक्ति भएको हुनाले अनावश्यक आरोप नगर भनेर उहाँप्रति सहानुभूति राखेका हौं । तर, नेता त हामीले प्रचण्डलाई नै मान्दै आएका हौं नि हामीले । उहाँका बारेमा ठूला ठूला भोल्युम लेखियो । मैले पनि लेखेको छु । त्यसकारण लिडरसीप त हामीले उहाँलाई नै मानेको हो नि । त्यसैले अहिले पनि हामी सहकार्य गरेर अगाडि बढ्न चाहन्छौं ।
तर, आन्दोलन र पार्टी निर्माणको कुरा गर्दा उहाँले एक वर्ष पहिले पेश गरेको २५ बुँदे एजेण्डा त्यत्तिकै हरायो । कहाँ गयो, कहाँ गयो । त्यो लागे भएको भए उहाँले प्रस्ताव गरेको कुराप्रति हामी खुशी भएका थियौं । अब पार्टी नयाँ बन्छ होला भनेर हामीले अपेक्षा गरेर बस्यौं तर त्यो चाँहि हरायो । त्यो कुरा उठाउँदा पुरानो भयो भन्दै हामीसित भन्दा पनि एमालेसित सहकार्य गर्नेतिर जानुभयो ।
अब तपाईहरुले नयाँ शक्तिको घोषणा कहिले गर्नुहुन्छ ?
अब एउटा बहस भइसकेको छ । १५/२० जिल्लामा बाबुरामजीले छलफल चलाईसक्नुभएको छ । अब यसमा हामी पनि जोडिएका छौं । केही महिनाभित्रै यसले मूर्त रुप लिन्छ ।
डा. बाबुराम भट्टराईले पूर्वमाओवादी समूहलाई टिपेर नयाँ शक्ति बन्दै भनेको सुनिएको छ, यही कारणले आफूले एक्लै पार्टी परित्याग गरेको बताइसकेको अवस्था छ । यो स्थितिमा तपाईहरुले नेता बनिदिन गरेको आग्रह उहाँले मान्नुभएन भने के गर्नुहुन्छ ?
उहाँले मान्नुभएन भने हामी अगाडि बढ्छौं ।






