सिड्नी । अस्ट्रेलियामा रहेर लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय विष्णु घिमिरे सम्मानित भएका छन् ।
अष्ट्रेलियन मल्टीकल्चरल एलाएन्स, आम्रा बंगलादेशी र नेप्लिज अस्ट्रेलियन वेयलफेयर काउन्सिलको संयुक्त आयोजनामा डिसेम्बर ३ तारिख सिड्नीको साउथवेस्ट मिन्टो कोरोनेशन पार्कमा सम्पन्न बहुसांस्कृतिक कार्यक्रमको अवसरमा घिमिरेलाई सम्मान गरिएको हो ।
यसरी मल्टीकल्चरल कम्युनिटीबाट सम्मानित हुने उनी सिड्नीको पहिलो नेपाली हुन् । एडमण्डसन पार्क बार्डिया नेप्लिज कम्युनिटीका पूर्व अघ्यक्ष समेत रहेका घिमिरेले बाल-बालिकाहरूलाई नेपाली भाषा र भेषभूषा सिकाउन तथा नेपाली समुदायमा पुस्तक पढ्ने संस्कार बसाउन निरन्तर प्रयास गर्दै आईरहेका छन् ।
उनको यही योगदानलाई मूल्याकंन गरेर कार्यक्रमको अवसरमा सम्मान गरिएको नेप्लिज अस्ट्रेलियन वेयलफेयर काउन्सिल अध्यक्ष नागेन्द्र अधिकारीले जानकारी दिए ।
घिमिरेले एडमण्डसन पार्कमा बसाई सरेपछि नेपाली बालबालिकाहरूलाई आफ्नो घरमा जम्मा गरेर २०१७ मा बाल नैतिक कक्षा शुरू गरेका थिए । १२ जना बाल-बालिकाहरूबाट शुरू भएको उक्त नैतिक कक्षाको प्रेरणाबाट उनले नेपाली पाठशालाको शुरूवात गरी बालबिालकाहरुलाई नेपाली पढाउने प्रेरणा मिलेको बताउँछन् ।
सबैको साथ र सहयोगबाट अहिले पाठशालाको स्थापना गरी बालबालिकाहरूलाई नेपाली भाषा, संस्कृति र परंपराको बारेमा पठन-पाठन गराउँदै आएका छन् । उनी पाठशालाको सयोंजक समेत हुन् ।
नेपालीहरूको संख्या बढेसंगै सिड्नीका धेरै सबर्बहरूमा नेपाली भाषा सिकाउने अभियान चलाउन ढिलो भई सकेको उनको भनाई छ । उमेरको एउटा चरण पार गरेपछि बच्चाहरूलाई नेपाली सिकाउन गाह्रो हुने भएकोले सानैमा नेपाली भाषा सिकाउन आवश्यक भएको उनको बुझाई छ ।
“भाषा, संस्कृति र परंपरा नै हाम्रो जननी हो, यदि हामीले हाम्रा सन्ततीहरूलाई यो कुरा हस्तान्तरण गर्न सकेनौ भने पछि गएर उनीहरूले आफ्नो पहिचान गुमाउनेछन्, घिमिरेले भने । त्यसैले हरेक अभिभावकहरू यसको लागि स्वयंम् जिम्मेवार हुनुपर्दछ ।
घिमिरे पाठशाला अष्ट्रेलिया र बुक सेयरिंग कार्यक्रमका अलवा अन्तराष्ट्यि नेपाली साहित्य समाज र गुल्मी समाज अष्ट्रेलियामा पनि आबद्ध रहेका छन् ।






