लण्डन । गुल्मी जिल्ला समाज युकेले अपागंता भएका व्यक्तिहरुको सहयोगार्थ आयोजना गरेको च्यारिटि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
विश्व अपांगता दिवसको अवसरमा वर्षेनी गर्दै आएको च्यारिटी कार्यक्रम यसवर्ष डिसेम्बर ४ तारिख आइतबार साउथ इष्ट लन्डनको वेलिङस्थित सेन्ट माइकल्स कम्युनिटी सेन्टरमा सम्पन्न भएको हो । गृह जिल्ला गुल्मीकै अपागंताको क्षेत्रमा सहयोगार्थ आयोजना गरिएको कार्यक्रमबाट झण्डै ८ हजार पाउण्ड सकंलन भएको कोषाध्यक्ष मुकुन्द खराल एबम प्रवक्ता राधा खरेलले बताए ।
उक्त रकम आशा अपागं केन्द्र तम्घास गुल्मी र गुल्मीकै रुरुको एक मात्र अटिजम विद्यालयलाई सहयोग गरिनेछ । समाजले विगतमा पनि विभिन्न सहयोग गर्दै आईरहेको छ । विशेषगरी आशा अपागं केन्द्रलाई हरेक वर्ष र विभिन्न समयमा सहयोग गर्दै आईरहेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्दै गुल्मीबासीले उदाहरणीय परोपकारी कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
उनले गृह जिल्ला र गृहबासीहरुको दुःखमा सदैव सहकार्य गरेर अगाडी बढ्न सुझाव समेत दिए । एनआरएन युके अध्यक्ष प्रेम गाहामगरले आफु पनि गुल्मेली भएको भन्दै समाजको हरेक कार्यमा साथ, सहयोग रहने जानकारी दिए।
च्यारिटी कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ओमप्रकाश थापा काउचाले स्लाईड सो देखाउँदै आशा अपागं केन्द्रले गरिरहेका कार्यहरुका बारेमा जानकारी गराएका थिए । आफुले १२ बर्ष अगाडी अशक्त र असहायहरुको सहयोगार्थ स्थापना गरेको संस्थाले विशेषत अपागंता भएकाहरुलाई सहयोग सगैं अपागंता हुनबाट बँच्न गर्न सकिने सामाजिक अभ्यास तथा सचेतनाका विषयमा समेत काम गर्दै आएको बताए । अपागंता भएकाहरुलाई उपयुक्त वातावरण र राम्रो व्यवहार गर्न सकेमा सपागं जस्तै सबल र सक्षम रुपमा काम गर्न सक्छन् भन्ने सचेतना फैलाउनु आफुहरुको उद्धेश्य रहेको स्पष्ट पारे । उनले गुल्मी तम्घास स्थित आशा अपागं केन्द्रलाई १२ बर्ष देखि अहिलेसम्म लगातार सहयोग गरेको भन्दै केन्द्रले पठाएको बार्षिक प्रतिवेदन, आजसम्म झण्डै ९ सय ठाउँका असहाय र अपागंता भएकाहरुलाई पुर्याएको सहयोग र समाजको प्रगती विवरण साथै वर्तमान र भविष्यका चुनौतीका विषयमा प्राजेक्टर मार्फत प्रस्तुती दिएका थिए ।
कार्यक्रममा सल्लाहकार केशव भण्डारी, पूर्व अध्यक्ष राम गलामी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली दुताबासबाट द्धितिय सचिव राम बाबु नेपाल, काउन्सिलरहरु जीत रानाभाट र नेम थापा समेत सहभागी भएका थिए। समाजका अध्यक्ष विर बलालले च्यारिटीबाट उठेको रकम जिल्लाका अपागंता भएकाहरुका क्षेत्रमा खर्च गरिने जानकारी गराए ।
कार्यक्रममा उपस्थित हुने र सहयोगी सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । कार्यक्रम संयोजक एवम् समाजकी उपाध्यक्ष तारा भट्टराईले कार्यक्रम सम्पन्न गर्न विभिन्न माध्यमबाट सहयोग गर्ने सहयोगीदातालाई धन्यवाद दिँदै समाजले यस्ता कार्यक्रमहरु निरन्तर रुपमा गर्ने जानकारी दिईन्।
कार्यक्रममा गुल्मी जिल्ला समाज युकेका सल्लाहकारहरु र कलाकारहरुलाई सम्मान गरिएको थियो। उनीहरुलाई विभिन्न क्षेत्रमा योगदान पुर्याए बापत सम्मान गरिएको समाजले जनाएको छ । त्यस्तै, अपांगता भएका अभियन्ताहरु शान्ति कुँवर, हरि बुढा र विनोद बुढाथोकीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा सल्लाहकार रोम नाथ पाण्डेको ब्यबस्थामा स्वादिष्ट भोजनका साथमा गुल्मेली लोकदोहोरी गायिका रुपा घर्ती मगर, जसु गुरुङ, क्याप्टेन विर बहादुर थापाको सागींतिक प्रस्तुतीका साथमा,प्रथम गुल्मेली नौमती बाजा यूके र डिजे हेम विष्टको प्रस्तुतिका र दीपक थापा मैथाने सहितका स्थानीय कलाकारहरुको नृत्य एवं सांस्कृतिक प्रस्तुति आकर्षक बनेको थियो ।
कलाकारहरुले सांगीतिक प्रस्तुती दिँदा दर्शकहरुले निकै मनोरञ्जन लिएका थिए। कार्यक्रममा समाजका सल्लाहकार एवम् पत्रकार फडिन्द्र भट्टराईले सुन्दर कविता वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव रुद्र थापाले र सह संयोजन सचिव महलाल घिमिरेले गरेका थिए ।
कार्यक्रममा मोना युकेका अध्यक्ष कुमार फगामी, बाग्लुड समाज युकेका पुर्व अध्यक्ष दिपक काउचा,प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका अध्यक्ष दासुराम पाण्डे तथा मन्दिरका मूल पण्डित निलहरि घिमिरे,समाजका पूर्व अध्यक्षद्वय अर्जुन गौतम, राम गलामी, सल्लाहकारहरु मोति भण्डारी, बालजंग अर्याल, मीन दर्लामी, फडिन्द्र भट्टराई, क्या ताम ढेगा, फत्त थापा , खड्का रेशमी,राजन खरेल, शिव भन्डारी, टेक थापा, चक्र राना,कृष्ण भन्डारी, भेष बहादुर थापा, कोलेशोर ढकाल भिम खनाल सहितका सल्लाहकार एवम् कार्यसमितिका पदाधिकारीको उपस्थिति थियो।




























