लण्डन । बेलायतको कञ्जरभेटिभ पार्टीबाट रश्मोर बरो काउन्सिलको चेरीउड वडाबाट सुमन पुनलाई काउन्सिलरको
टिकट दिएको छ । आउंदो ४ मे, २०२३ मा हुने स्थानीय निर्वाचनका लागि सफल व्यवसायी सुमनले टिकट पाए पछि लण्डन नेपाल न्यूजसँग बोल्दै आफूलाई टिकट दिलाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् । उनले आफूले बेलायतमा रहेका नेपाली महिलाहरुको प्रतिनिधित्व गर्दै यहाँको राष्ट्रिय राजनीतिको बाटोमा हिडेको भन्दै यस कार्यमा साथ दिन आग्रह गरिन् ।
२०१९ देखि कञ्जरभेटिभ पार्टीबाट राजनीति शुरू गरेकी उनी पूर्व गोरखा सैनिककी श्रीमती समेत रहेकी उनले पार्टीमा डाइभरसिटी समूहको उपाध्यक्ष र व्यापार उद्यम समूहकी अध्यक्षको रुपमा काम गरिरहेकी छन् । आफूले पार्टी र समाजको निम्ती पुर्याएको योगदानको कदर हुँदै टिकट पाएकोमा उनले हौसला मिलेको बताइन् ।

लण्डन नेपाल न्यूजसँग बोल्दै उनले भनिन्, महिला नेतृत्वको निम्ती अघि बढ्न खोजेकी छु, आशा छ सबैको साथ सुझाव सल्लाह पाउनेछु । सुमनले लिडरसीप म्यानेजमेण्टमा एमएस्सी गरेकी छन्, भने मान ट्राभल एण्ड टूर सर्भिसको प्रबन्ध निर्देशक तथा सात वर्षदेखि गोरखा सर्भिसेज लाइफ केयर म्यानेजमेण्टको पनि संस्थापक निर्देशकको रुपमा काम गरिरहेकी छिन् ।
बेलायतमा नेपाली कला संस्कृतिलाई फैलाउन भूमिका खेलिरहेकी उनले केही समयअघि युकेका नेपाली कलाकारहरुले देशप्रेमले भरिएको म्यूजिक भिडियो पनि बनाउने काममा समेत हात हालेकी थिइन् ।
बेलायतमा रहने नेपालीहरु मध्ये एक शसक्त र निडर नेत्रीको रुपमा समेत छवि कमाउन सफल भएकी छन् ।नेपालको म्याग्दी जिल्लामा जन्मिएकी सुमन विगत १८ बर्षदेखि बेलायतमा बस्दै आएकी छन् ।बेलायतमा नेपाली मूलका काउन्सिलरहरु थपिँदै गए पनि महिला काउन्सिलरहरुको संख्या भने न्यून छन् ।






