युकेमा सडक दुघर्टना, पैदल हिँडिरहेकी नेपाली महिलाको निधन

लन्डन– युकेको वोकिङमा शुक्रबार राति भएको सडक दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ ।

बेलायतको स्थानीय समयअनुसार राति करिब ८:४५ बजे वोकिङको मोनुमेण्ट रोडमा पैदल हिँडिरहेकी ४९ वर्षीय राधिका गुरुङको मृत्यु भएको स्थानीय सर्रे प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आर्नोल्ड रोडको जंक्सन नजिकै दुर्घटना भएको हो ।

सेतो रंगको बीएमडब्यु कारसँस ठोक्किएर उछिट्टिएको पेजट कार फुटपाथमा हिडिरहेकी राधिकामाथि बज्रिन पुगेको थियो । उनलाई तत्कालै घटनास्थल आइपुगेका पारामेडिक्सले उपचार गरे पनि केही बेरमै मृत घोषणा गरेको स्थानीय गेटसर्रे डटकमले जनाएको छ ।

को हुन् राधिका ?
निधन भएकी राधिकाको गृहजिल्ला पूर्वी नेपालको संखुवासभा हो । संखुवासभा मच्छेपोखरी ६ घर भएकी गुरुङ सातौँ गोरखा राइफल्सका पूर्व गोरखा सैनिक ९२११६३७१७० धर्मराज गुरुङकी पत्नि रहेको संखुवासभा समाज युकेका संयोजक गणेश रानामगरले जानकारी दिए ।

धर्मराज गुरुङ संखुवासभा समाज युकेको संरक्षक र संखुवासभा समाज हङकङको संस्थापक संरक्षक हुन् भने स्वर्गीय श्रीमती राधिका गुरुङ संखुवासभा समाज युके महिला समितिकी वरिष्ठ सदस्य थिइन् ।

उनको एक छोरा इन्जिनियर मिराज गुरुङ र चार छोरीहरु मेजिना, मिसान, सोफिन र रोजिना छन् ।