आज शहीद दिवस मनाइदैं

आज शहीद दिवस । तत्कालीन एकतन्त्रीय जहाँनियाँ राणा शासनविरुद्ध प्रजातन्त्रको पक्षमा आवाज उठाएकै निहुँमा शहादत प्राप्त गरेका चार सपुत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा आज शहीद दिवस मनाउने गरिएको छ । नेपालका चार सपुतहरुलाई विक्रम सम्वत १९९७ माघ महिनामा तत्कालीन राणा शासकहरुले कठीन यातनापछि मृत्युदण्ड दिएका थिए ।
राणा शासकहरुले यी शहीदहरु मध्ये शुक्रराजलाई माघ १० गते टेकु पचलीमा रहेको खरीको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए । माघ १३ गते धर्मभक्तलाई सिफलमा, १५ गते गंगालाल र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिईएको थियो ।
चार शहीदको संझनामा काठमाडौ महानगरपालिकाले माघ १० गतेदेखि १६ गतेसम्म शहिद सप्ताह मनाउंदै आएको छ । चार शहीदको बलिदानपछि देशमा धेरै उथलपुथल भए पनि लोकतान्त्रिक, शान्त र सम्मृद्ध नेपाल बनाउने शहीदको सपना भने अझै पुरा हुन सकेको छैन् ।
सरकारले सामान्य घटनामा मारिएका ब्यक्तिलाई पनि शहीदको कोटामा राखेर रकम वितरण थालेपछि शहीद शब्दकै अपमान भएको गुनासो पनि उत्तिकै सुनिन थालेको छ । २००७ , २०३६, २०४६ र २०६२-६३ सालमा महत्वपूर्ण परिवर्तनका लागि भएका ठुला जनआन्दोलनहरुमा शहादत प्राप्त गर्नेहरुहरुको अबमुल्यन हुनेगरी जथाभावी शहीदको बर्गीकरण गरिदा शहीदको संख्या गणनामै अन्योल बढेको छ ।
सहिद दिवसको सन्देश दिँदै प्रधानमन्त्री सुशील कोइरालाले देशको अस्तित्व रक्षा र जनताको हकहित, अधिकार र स्वतन्त्रताको निम्ति आफ्नो जीवन आहुति दिने महान सहिदहरुको बलिदानको श्रद्धापूर्वक स्मरण गर्दै सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गरेका छन् । संघीयता,गणतन्त्र र समावेशिता सहितको लोकतन्त्रयुक्त शासन व्यवस्था ल्याउन धेरै नेपाली सपूतहरुले ज्यान अर्पण गरेको स्मरण गर्दै प्रधानमन्त्रीले यो दिवसले देश, लोकतन्त्र र आम जनताका प्रति इमान्दारीपूर्वक समर्पित भएर काम गर्ने प्रेरणा दिने विश्वास गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले सन्देशमा संविधानसभामा भित्र र बाहिर रहेका सबै राजनीतिक दलहरुसमक्ष सहिदहरुको बलिदानको पुनस्मरण गरी अहिलेसम्म हासिल भएका उपलब्धिहरुलाई संविधानमा संस्थागत गर्ने महान अभियानलाई छिटोभन्दा छिटो पूरा गरी जनतालाई सुखी र समृद्ध बनाउने कार्यमा  इमान्दारीपूर्वक सहभागी हुन हार्दिक अनुरोध गर्दछु भनेका छन् ।