‘तरबार घाँटीमा झुण्ड्याएर वार्तामा नडाक्नुहोस’

प्रधानमन्त्री, संविधान सभाका अध्यक्षका साथै सत्ताधारी दलहरुसँग वार्तामै नबस्ने हठ देखाइरहेका प्रमुख विपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रधानमन्त्री सुशील कोइरालाले भेटवार्ता गरे । संविधान लेखनमा भाग नलिने घुर्की लगाउदै आएका प्रचण्ड निवास लाजिम्पाट पुगेका प्रधानमन्त्रीले वार्तामा आउन निम्तो दिएका थिए । कोइरालाले वार्ता, सहमति र एकताबाटै मुलुकले निकास पाउने भएकाले वार्ताबाट नभाग्न प्रचण्डलाई सम्झाए ।
जवाफमा प्रचण्डले संविधान लेखनमा बहुमतिय प्रक्रियाको तरबार घाँटीमा झुण्ड्याएर वार्तामा बोलाउनुको अर्थ नभएको जवाफ दिएका थिए । जनआन्दोलनका सहयात्री मिलेर संविधान जारी हुने विश्वासिलो वातावरण मिलाए मात्र वार्तामा बस्ने जवाफ प्रचण्डले प्रधानमन्त्रीलाई दिएको एकीकृत माओवादीका सचिव बर्षमान पुन अनन्तले जानकारी दिए । प्रकृयाबाट संविधान जारी गर्ने दम्भ सत्ता पक्षले नत्यागेसम्म बिपक्षी मोर्चा वार्तामा नबस्ने अडान एकीकृत माओवादीले राख्दै आएको छ । प्रधानमन्त्री अकस्मात प्रचण्ड निवास पुगेका थिए ।