लन्डन– नेपालमा बेलायती लगानी भित्र्याउन ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी)ले पहल गरेको छ ।
बीएनसीसीले लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार साँझ व्यापार र लगानी विषयमा केन्द्रित एक सेमिनार आयोजना गरेको छ । सहभागीहरुले लगानीका लागि नेपाल उचित गन्तव्य रहेको ठहर गर्दै बेलायती लगानी अझै बढाउनेतर्फ ध्यान दिइनुपर्नेमा जोड दिए ।
सेमिनारमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायत र नेपालबीच व्यापार र लगानी बढाउन बीएनसीसीले गरेका पहलहरुको प्रशंसा गरे । उनले बेलायतमा अन्तर्राष्ट्रिय स्तरको व्यवसाय सञ्चालनको अनुभव लिएका नेपाली व्यवसायीहरुलाई नेपालमा लगानीका लागि आकर्षित गर्नेतर्फ पहल गर्न सुझाव दिए । नेपालमा बेलायती लगानी बढाउने प्रयासमा बीएनसीसीसंग मिलेर सहकार्य गर्न दूतावास इच्छुक रहेको जनाउंदै उनले त्यसका लागि आफ्नो प्रतिवद्धता पनि जाहेर गरे ।
बेलायती हाउस अफ लर्डसका स्थायी सदस्य अर्ल अफ स्याण्डवीचले बेलायत र नेपालबीचको व्यापार सम्बन्ध सुदृढीकरणका लागि बेलायतको संसदबाट हुन सक्ने पहलका लागि आश्वासन दिए ।
उक्त सेमिनारमा ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलले नेपालमा व्यापार र लगानीका लागि वातावरण उचित रहेको बताए । नेपालमा केही बेलायती कम्पनीहरुले उदाहरणीय सफलता हासिल गरेको दृष्टान्त प्रस्तुत गर्दै कँडेलले बेलायतबाट नेपाल भित्रिने लगानी अझै वृद्धि गर्न बीएनसीसी प्रयत्नरत रहेको बताए ।
कार्यक्रममा राजदूत सुवेदीलाई संरक्षकको रुपमा औपचारिक स्वागत गरिएको हो । बीएनसीसी अध्यक्ष राजन कंडेलले सुवेदीलाई संस्थाको संरक्षक नियुक्त भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
लामो समयको रिक्ततापछि बेलायतमा नेपाली राजदूतको रुपमा सुवेदी नियुक्त भएकाले उनीबाट आर्थिक कुटनीतिको क्षेत्रमा समेत आफूहरुले उल्लेखनीय योगदानको आशा राखेको कँडेलले बताए ।






