सिड्नी । अस्ट्रेलियामा नेपाल चिनाउने अभियान बोकेको नेपाल फेस्टिबल ब्रिसबेनमा पनि आयोजना हुने भएको छ । गैर आवासीय नेपाली सघं एनआरएनए क्विन्सल्याण्डले आगामी नाभेम्बर १३ मा नेपाल फेस्टिबल ब्रिसबेन २०२२ गर्ने भएको हो ।
ब्रिसबेनको किंग जर्ज स्क्वायरमा आयोजना गरिने फेस्टिबलले अस्ट्रेलियाका विभिन्न सहरमा भईरहेका फेस्टिबल जस्तै नेपालीपन र नेपाली मौलिकतालाई प्रवद्र्धन एवम् विस्तार गर्ने लक्ष्य राखेको एनआरएनए क्विन्सल्यान्डका संयोजक विनोद भक्त आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार फेस्टिबलमा नेपाली खाना, नेपालको ऐतिहासिक तथा पुरात्वातिक महत्व अनि नेपालको गौरवगाथा झल्किने नेपाल हाउस, कला संस्कृतिको पहिचान अनि विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सागींतिक प्रस्तुतीका साथमा अन्य विभिन्न रमाईलो मेला रहनेछ ।
प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको नेपाल फेस्टिबलले अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुलाई एकजुट गराई आफ्नो भातृत्व तथा मातृभूमी प्रतिको माया आदान प्रदान गर्ने र सिगों नेपाललाई अस्ट्रेलियामा रहेका नेपाली नयाँ पुस्ता तथा स्थानीय बहुसांस्कृतिक समुदायबीच पुर्याउनु प्रमुख उद्धेश्य रहेको आचार्यको भनाई छ ।
फेस्टिबलमा विभिन्न समुदायका व्यक्तिहरु गरेर झण्डै १० हजार जनाको उपस्थिति हुने आयोजकले अनुमान गरेको छ ।
२०१० देखि निरन्तर रुपमा गरिँदै आएको नेपाल फेस्टिबलको आन्तरिक तैयारीसगैं निमन्त्रणा गर्ने र अन्य आवश्यक तैयारीहरु अन्तिम चरणमा पुगेको भन्दै आचार्यले सबैलाई फेस्टिबलमा उपस्थित भएर नेपाली कला संस्कृति रितिरिवाज र हाम्रा मौलिकतालाई प्रस्तुत गर्ने एवम् अवलोकन गर्ने अवसरको सदुपयोग गर्न आग्रह गरे ।






