लन्डन । भूतपूर्व ब्रिटिश गोर्खा मुद्दामा बेलायत र नेपाल सरकार (जिटुजी) तथा गोर्खा प्रतिनिधिबीच प्रारम्भिक चरणको त्रिपक्षीय वार्ता भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार बिहान करिब एक घण्टा चलेको पहिलो चरणको वार्ता सकारात्मक रहेको भूतपूर्व गोर्खाहरुले जनाएका छन् ।
आफ्ना विभिन्न मागहरु सम्बोधन हुनुपर्ने माग राख्दै आन्दोलनरत भूतपूर्व गोर्खाहरु बिहीबार बिहान मध्य लन्डनमा सैयौं भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारजनहरुले शान्तिपूर्ण प्रदर्शन गरेका थिए। उनीहरुले गोर्खाहरुलाई समान पेन्सन देउ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।
बेलायत भेट्रान्स राज्यमन्त्री डा. एन्ड्रु मोरिसन तथा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अ.प्रा.) जुदबहादुर गुरुङ्ग तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट पुष्पा राणा घले, धनबहादुर गुरुङ्ग समेतको सहभागितामा भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा पहिलो वैठक सम्पन्न भएको हो ।
वैठकमा नेपाल सरकारको तर्फबाट राजदुत आचार्यले भूपू गोर्खाका लागि ब्रिटिश सैनिक सरह समान पेन्सन, पूरक पेन्सन, अङ्गभङ्ग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यहरु लगायत समाधान गर्न बाँकी रहेका मागहरुका विषयमा ध्यानाकृष्ट गराएका थिए ।

साथै उक्त विषयहरुमा भूपू गोर्खाहरुको तर्फबाट जुदबहादुर गुरुङ्गले समेत प्रष्टाएका थिए । ब्रिटिश सरकारको तर्फबाट रक्षा राज्य मन्त्रीले आफूले यी विषयमा विस्तृत अध्ययन तथा परामर्श गरी पुनः अर्को बैठकमा छलफल गर्ने बताएको लण्डन स्थित नेपाली दुतावासले जनाएको छ ।
बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले वार्ताको प्राविधिक पक्षको बारेमा छलफल गर्न यही नोभेम्बर महिनाको तेश्रो वा चौथो साता अर्को बैठक बस्न सक्ने बताइन्। उता गोर्खा अभियन्ताहरुले चाहिं मार्च २०२३ सम्म निर्णायक वार्ता हुनु पर्ने माग राख्दै आएका छन् ।
वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत आचार्य सहित उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट श्रीमती पुष्पा राणा घले, धनबहादुर गुरुङ्ग तथा बेलायत सरकारको तर्फबाट रक्षा राज्यमन्त्री सहित रक्षा मन्त्रालय एवं अन्तर्गतका बिभिन्न पदाधिकारीहरु सहभागी भएको दूतावासले जनाएको छ।
उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गर्दै गोर्खा अभियन्ताहरु ज्ञानराज राई, पुष्प राणा घले तथा धन गुरुङले गत अगष्ट २०२१ मा ब्रिटिश रक्षा मन्त्रालय नजिकै १३ दिन लामो भोक हडताल गरे पछि ब्रिटिश सरकारले उनीहरुका माग बारे छलफल गर्न एक उच्चस्तरीय वार्ता समिति गठन गर्न सहमति जनाएको थियो
भिडियो हेर्नुस के भन्छन आन्दोलनरत भूतपूर्व गोर्खाहरु
http://https://www.facebook.com/londonnepalnews/videos/1186750425244148
http://https://www.facebook.com/londonnepalnews/photos/pcb.5466793936772423/5466790740106076






