लन्डन । एनआरएनए यूकेले भूतपूर्व गोर्खा आन्दोलनमा ऐक्यवद्धता जनाउंदै लन्डनमा व्यापक प्रदर्शन गर्ने भएको छ ।
भूतपूर्व गोर्खा मुद्दामा बेलायत र नेपाल सरकार (जिटुजी) तथा गोर्खा प्रतिनिधिहरुबीच वार्ताका बेला बेलायती रक्षा मन्त्रालय अगाडि शान्तिपूर्ण प्रदर्शन हुने भएको हो ।
आउंदो ३ तारिख नोभेम्बर बेलायती रक्षा मन्त्रालय (एमओडी) मा ऐतिहासिक वार्ता हुन लागेको छ । भूतपूर्व गोर्खाहरुको समान पेन्सन, क्षतिपूर्ति र सेवा सुविधाका लागि हुन लागेको यो वार्ता ऐतिहासिक हुने आशा गोर्खाहरुको छ ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले दुई सरकारलाई दवाव र गोर्खाहरुप्रति ऐक्यवद्धता प्रकट गर्न प्रदर्शन तय गरिएको जनाए । प्रदर्शनमा ब्रिटिश भेट्रानहरु पनि सहभागी हुने गाहामगरले बताए ।
आगामी बिहीबार १०.४५ बजे बिहान ट्राफलगर स्क्वायर अगाडि जम्मा भएर मार्च पास गर्दै एमओडी जाने कार्यक्रम बनाइएको छ । गाहामगरले अपिल गरेका छन्, ‘कृपया प्रदर्शनमा मफ्ती- सुट, रेजिमेन्टल टाई, मेडल, गोर्खा ह्याट जे छ लगाएर सहभागी भइदिनुहुन हाम्रो आग्रह छ ।’
उता, गोर्खा सत्याग्रहले पनि प्रदर्शन गर्दैछ । सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले दवाव स्वरुप प्रदर्शन गर्न लागिएको जनाउंदै वार्ता वेवास्ता गरिए त्यसै दिन आन्दोलनका कार्यक्रम तय गरिने बताएका छन् ।







