भूपू गोर्खा अभियान्तालाई राष्ट्र राईले दिए कडा चेतावनी

लन्डन । भूपू गोर्खा अभियान्ताहरुमाथि आक्रोस पोख्दै भूपू गोर्खा राष्ट्र राइले कडा चेतावनी दिएका छन् । भूपू गोर्खा समस्या समाधानमा गम्भीरता देखाउन अभियान्ताहरुलाई आग्रह गर्दै उनले आन्तरिक लडाईमा लागेर भूपू गोर्खाहरुमाथि खेलवाड नगर्न सुझाएका छन् ।
लामो समयपछि बेलायत सरकार भूपू गोर्खाहरुको समस्या समाधानका विषयमा सकारात्मक हुँदै वार्ता गर्ने वातावरण मिलाएपनि उक्त वार्तामा सहभागी हुने प्रतिनिधि छनौटमै अभियान्ताहरु तछाड मछाड गर्नु लज्जास्पद भएको उनको तर्क छ ।
भुपू गोर्खाहरुको समस्या समाधान गर्न दुई सरकारबीच ऐतिहासिक वार्ता हुने भएको छ । बेलायत सरकार र नेपाल सरकारबीच हुने भनिएको वार्तामा गोर्खाहरुको तर्फबाट तीन जना प्रतिनिधि तोकिएको छ । गोर्खाहरुको हकहित र अधिकारको नाममा लड्ने संस्थाहरूनै वार्तामा सहभागीका लागि प्रतिनिधिहरू चयन गर्ने बारे आन्तरिक तछाड मछाड र मतभेत भई प्रतिनिधिको टुङ्गो लगाउन समस्या परेको खुलासा भएको छ । वार्ता सफल हुने आशा गरिरहेका गोर्खाहरु थोरै आशा र धेरै आक्रोशमा देखिन्छन् ।
समस्त गोर्खाहरुको माग एउटै हो अनि ति सामुहिक मागको लागि गरिने वार्तामा किन एक हुन सक्दैनन् । जब सम्म गोर्खा संस्थाहरु आपसमा एकता हुदैनन् समस्याको समाधान कहिलै हुन सक्दैन् । जति गोर्खाहरुबीच एकता हुदैन् त्यसको फाइदा बेलायत सरकारलाई भइरहेको छ । उनीहरुको चाहाना पनि त्यहि हो । गोर्खाहरुबीचको आपसी झगडाका कारण सरकारलाई कानमा तेल हालेझै गरि बस्न र समय धेरै लगाएर वृद्धवृद्धाको संख्यानै न्यून भएपछि मात्र समान अधिकारको घोषणा गर्ने चलाखीपन सहजै अनुमान गर्न सकिन्छ ।
वार्तामा समावेस गर्ने बुँदागत माग सवैले सामुहिक छलफल गरि सहमती गरेर सो माग वार्तामा प्रस्तुत गर्न गोर्खाहरुको तर्फबाट सक्षम व्यक्तिको चयन हुनुपर्दछ । चाहे जुनसुकै संस्थाको होस नोलेजेबल र बोल्न सक्ने ब्यक्ति हुनुपर्यो । वार्तामा राखिने बुँदाहरु गोर्खा समुदायको मर्म र भावनालाई समिटिएको हुनुपर्दछ । प्रस्तुतिका लागि सक्षम, योग्य व्यक्ति जस्ले गोर्खाहरुको समस्यबारे स्पष्ट पार्न सक्छ ति व्यक्तिहरू निर्विकल्प विवाद रहित साझा प्रतिनिधी हुनु आवश्यक छ ।
उक्त विषयमा आपसी मतभेद गरेर लज्जास्पद विषय नबनोस र यो दुवै देशबीच हुने वार्तामा दुवै देशले ३ जना गोर्खाहरुको प्रतिनिधि मागेको सायद पहिलो पटक हुन सक्छ । यस्तो अवसर पटक पटक आउदैन । आपसी मतभेद र खिचातानीको कारण सुनौलो मौका खेर फाल्ने प्रयास नगरौँ । गोर्खा समर्थक बेलायती जनता र धैर्य भई आशामा बसिरहेका वृद्धवृद्धा गोर्खाहरुलाई धोका नदियोस् ।
स्वार्थ, श्रेय लिन खोज्ने, भागबण्डा, ईगो मासिने र नासिनेका कारक तत्व हुन् । अब सामुहिक साझा प्रतिनिधी चयन गरौ । नत्र माग पुरा गर्न बेलायत सरकारसंग संघर्ष हैन गोर्खाकै नाममा खोलिएको संस्थाहरूको विरुद्धमा गर्नुपर्ने देखिन्छ । पटक पटक विभिन्न समुहलाई आर्थिक सहयोग गर्ने, केही हुन्छ की भन्ने आशामा रहेका सोझा साझा बुढेसकालका भुपू गोर्खाहरुको सराप र आँशुले पिरोल्नेछ ।
नाम, दाम, पद, प्रतिष्ठामा होमिएका स्वार्थी अभियान्ताहरू खबरदार ! जिन्दगी भरि मागी खाने भाँडो बनाउन खोज्नेहरुबाट सतर्क रहनुहोला । गोर्खाहरुको समस्या समाधान गर्ने उदेश्य सवै गोर्खा संस्थाहरूको अभियान्ताहरुमा निःस्वार्थ भावना होस् र सबै एकजुट भई सहकार्य गर्ने सद्वुद्धि आवोस् भन्ने आम गोर्खा समुदायको कामना छ ।
पहिलो पटक गोर्खाहरुको तर्फबाट प्रतिनिधि सहित दुइ देशबीच हुन लागेको वार्ता गोर्खा अभियान्ताहरुकै खिचातानिको कारण असफल भएमा त्यसको जिम्मेवार उनीहरुलेनै लिनुपर्दछ । अन्तमा कुनै नाटकिया अन्तरवार्ता दिएर गोर्खाहरुबीच अझ विभाजन गर्ने काम नगरियोस् । यो फुट्ने बेला होइन, जुट्ने समय हो ।
जय गोर्खा।
(राई गैर आवासीय नेपाली संघ बेलायतका निवर्तमान उपाध्यक्ष हुन् ।)
===