सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यू साउथ वेल्स राज्य परिषद सचिव बिनोद कुँवरले नेपाल फेस्टिबल नेपालीहरुको ठुलो पर्व रहेको बताएका छन् । नेपाल फेस्टिबल सिड्नी २०२२ को मिडिया सयोंजक समेत रहेका कुँवरले लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै नेपाली कला, संस्कृति झल्किने ठुलो पर्व नै फेस्टिबल रहेको बताए ।
नेपालको पर्यटन प्रबर्द्धनका लागि मात्र नभई, नेपाल र अष्ट्रेलिया बीचको सम्बन्ध, अष्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्ताका लागि आफ्नो मौलिक परिचय गराउने अवसर समेत रहेको भन्दै उनले नेपाल फेस्टिबलले नेपालको मौलिकता बोकेको बताए ।
विभिन्न ईभेन्ट्सहरु त आयोजना भईनै रहन्छन्, तर नेपाल फेस्टिबलले सिगों नेपाल नै बोकेको छ उनले भने – “नेपाललाई प्रतिनिधित्व गराउने नेपाली भाषा संस्कृति, मठमन्दिरहरु देखाउने र नेपालको इतिहासको बारेमा बताउने जस्ता धेरै गतिबिधिहरु हुने गर्छ, जसमा हामीले नेपालको परिचय अरु समुदायलाई चिनाउन पाउँछौं ।”
नेपाली कला, संस्कृति जोगाउने सबैभन्दा ठूलो र महत्वपूर्ण इभेन्टस नै नेपाल फेस्टिवल रहेको भन्दै कुँवरले अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा आफ्नो नेपाल देशबारे बताउन पाउँदा गर्व लाग्ने गरेको समेत बताए ।
“फेस्टिवलमा स्थानीय व्यक्तिहरु आएर आफ्नो देश नेपालको बारेमा अवलोकन गरेको र अझै नेपाल प्रति जान्ने उत्सुकता जनाइरहेको देख्दा अत्यन्तै खुसी लाग्छ ।”-कुँवरले भने ।
नेपाल फेस्टिवलमा नेपाल पन झल्किने गरी प्रस्तुत गरिने नेपाल हाउसले विशेष महत्व बोकेको उनको भनाई छ । नेपाली पोशाकदेखि खानाका परिकारहरुसम्म नेपालीपन झल्किने हुँदा नेपाल हाउस विशेष नै छ उनले भने यसमार्फत नेपालीको मौलिक संस्कृति, मठ मन्दिर, मूर्तिहरु, शुद्ध नेपाली खानाको स्वाद र बुरवूडपार्कमा फर्फराईरहेको नेपाली झण्डा तथा नेपाली पोशाकमा सजिएर हुर्किरहेका दोस्रो पुस्ताहरुको सहभागिता देख्दा यसले प्रवासमा नेपालीहरुको ठुलो पर्व आएको जस्तो महसुस गराउने कुँवरले बताए ।
१९ नाभेम्बरमा हुने नेपाल फेस्टिबल सिड्नीको भव्य तैयारीकाबीच उत्साहजन माहोल सुरु भएको उनले बताए । विभिन्न व्यवसायिक संस्थाहरु र अस्ट्रेलियामा रहेका नेपाली समुदायका व्यक्ति तथा सघंसंस्थाहरु सबै एकजुट भई हातेमालो गरेर नेपाल फेस्टिबल सिड्नी सफल पार्न लागिपरेको उनको भनाई छ ।
कोरोनाका कारण ४ वर्षपछि आयोजना भएको नेपाल फेस्टिबल सिड्नी अझै भव्य बन्ने आफुहरुको अपेक्षा रहेको भन्दै यसले अझै धेरै उर्जा थपेको समेत बताए ।
उनले नेपाल फेस्टिवल मौलिक परिचय दिने उत्सब सगैं केवल संस्थाको मात्र नभएर नेपाल र नेपालीको इतिहास, पहिचान बोकेको, कला-संस्कृतिको प्रचार गर्ने सिग्निचर ईभेन्ट रहेकाले नोभेम्बर १९ मा बुरवूडपार्कमा उपस्थित भई भव्य रुपमा फेस्टिबल सफल बनाउन सम्पूर्णलाई आग्रह समेत गरेका छन् ।






