सिड्नी । न्यू साउथ वेल्स राज्यमा कोरोना संक्रमण बढ्दै जान थालेसँगै २ हप्ते लकडाउन घोषणा गरिएको छ ।
शनिवार न्यू साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले दुई हप्ते लकडाउन घोषणा गरेकि हुन् । यसअघि शुक्रवार सिड्नीका चार काउन्सिलमा मात्र लकडाउन घोषणा गरिएको थियो ।
नयाँ घोषणा अनुसार ग्रेटर सिड्नीसहित, ब्लू माउन्टेन, सेन्ट्रल कोष्ट र उलङ्गंगमा कडा लकडाउन घोषणा गरिएको छ । शनिवार ६ बजेबाट लागू हुने उक्त लकडाउनको अवधिमा अत्यावश्यक बाहेक अन्य कामको लागि घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।
वितेको २४ घण्टामा न्यू साउथ वेल्समा मात्रै २९ नयाँ संक्रमितहरु भेटिएका थिए । यस क्षेत्रमा भारतमा भेटिएको अति नै संक्रमक मानिने डेल्टा भेरियन्ट देखिएको कारण सरकारले चेन ब्रेक गर्नको निम्ती दुई हप्ते लकडाउन घोषणा गरेको हो ।
के छन् नँया प्रतिबन्धहरु ?
नयाँ प्रतिबन्ध अनुसार यी चार क्षेत्रहरुमा घरबाहिर निस्कनेहरुलाई कडाई गरिएको छ । जुलाई ९ सम्म लागू हुने उक्त लकडाउनको अ वधिमा सिड्नीका बासिन्दाहरुलाई अत्यावश्यक किनमेल, मेडिकल, १० जनाको समूहमा जिम, काम र शिक्षाको लागि मात्र बाहिर निस्कन पाइने छ ।
सामुदायिक खेलहरु बन्द हुनेछन् ।
आइतवारदेखि विवाहको लागि पनि अनुमति दिइएको छैन । मृत्युसंस्कार गर्न पनि कम व्यक्तिहरु मात्र सहभागि हुन पाइने छ । हरेक अवस्थामा मास्क लगाउन अनुरोध गरिएको छ ।
जुन २१ देखि ग्रेटर सिड्नीमा गएका मानिसहरुलाई अनिवार्य रुपमा १४ दिनसम्म आइसोलेसनमा बस्न भनिएको छ । प्रहरीले लकडाउनको नियम पालना गराउन तथा अनुगमन गर्न विभिन्न क्षेत्रमा चेकिङ्ग तथा विभिन्न यन्त्र उपकरण हरु प्रयोग गर्नेछ ।






