लण्डन । पूर्व अर्थमन्त्री ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता चयन भएसंगै उनी प्रधानमन्त्री बन्ने भएका हुन् । प्रतिस्पर्धामा रहेकी मन्त्री पेन्नी मोर्डन्टले सुनकलाई समर्थन गर्ने घोषणा गर्दै पछाडि हटेपछि सुनक बेलायतको इतिहासमा पहिलो अश्वेत प्रधानमन्त्री हुनेछन् । बेलायतका पूर्व अर्थमन्त्री ४२ वर्षीय सुनक भारतीय मूलका बेलायती हुन् ।
गत साता प्रधानमन्त्री लिज ट्रसले राजिनामा दिने घोषणा गरेसँग कन्जरभेटिभ पार्टीमा नयाँ नेता छान्नका सोमबारसम्म मनोनयनका लागि समय तोकिएको थियो ।
प्रधानमन्त्री बनेको ४५ दिनमै ट्रसले राजिनामा दिने घोषणपछि दलको नयाँ नेता छान्ने प्रक्रिया सुरु भएको थियो ।
अर्थतन्त्रलाई गति दिन भनेर ल्याएको कार्यक्रमले संकट उत्पन गराएपछि ती निर्णयहरु फिर्ता लिँदै ट्रसले राजीनाको घोषणा गरेकी थिइन् ।
विभिन्न विवादमा परेका कारण जोन्सनले राजीनामा दिएपछि पार्टी नेताका लागि ट्रस र सुनकबीच प्रतिस्पर्धा भएको थियो । जसमा ट्रसले सुनकलाई पराजित गरेकी थिइन् ।






