लन्डन छाडेर चुनाव लड्न गएका मनोजले कति मत पाए ?

–शिव भण्डारी
लन्डन– लन्डनको व्यापार व्यवसाय छाडेर चुनाव लड्न गएका युवा राजनीतिज्ञ मनोज मेहेताले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ ।

सुनसरीको इनरुवा नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमबाट मेयर पदमा उम्मेदवारी दिएका मेहेताले २६१५ मत मात्रै पाएका छन् । इनरुवा नगरपालिकाको मेयरमा भने नेपाली कांग्रेसका राजन मेहता १०९८७ मतसहित निर्वाचित भए । दोस्रो स्थानमा नेकपा एमालेका पोष्टकुमार नेपालले ९८१३ मत पाए ।

उपमेयरमा पनि नेपाली कांग्रेसकै जमुनादेवी पोखरेल १०९०६ मतसहित निर्वाचित निर्वाचित भएकी छन् भने एमालेका कवितादेवी यादवले ९१४९ मत पाइन् । लोकतान्त्रिक फोरमबाट उम्मेदवार भएकी कुमारी निरा पोखरेलले २७६२ मत पाइन् ।

३९ वर्षीय मनोजका बुवा लक्ष्मण मेहेता कांग्रेसमा लामो राजनीति गरेर विजयकुमार गच्छदारसँगै २०६४ सालमा तत्कालिन मधेसी जनअधिकार फोरम, नेपालमा प्रवेश गरेका थिए । लक्ष्मण कृषि राज्यमन्त्रीसमेत भए ।

सन् १९९९ अक्टोबरमा विद्यार्थीका रुपमा बेलायत टेकेका मनोजले सन् २००३ देखि नै व्यवसाय थाले । सुरुतिर उनी प्रोपर्टी व्यवसायमा थिए । मनोजको अनुपस्थितिमा लन्डनको बिजनेश रवि थपलिया, राजेश ओझा र आनन्द श्रेष्ठले सम्हाल्दैछन् । राजेश र आनन्द इनरुवावासी नै हुन् । मनोजको नेपालमा पण्डित निर्माण सेवा र बराह कन्सट्रक्सन कम्पनी पनि सञ्चालनमा छन् । काठमाडौं कोटेश्वरमा होटल तपोवन छ । रुपेश यादवले नेपालको विजनेश हेरेका छन् । विजनेश अरुले हेरिदिएकाले आफू पूर्णकालिन समय राजनीतिमै लाग्ने मनोजको सोच छ ।