शिब भण्डारी
लन्डन । बेलायतवासी नेपाली समुदायले कबड्डी कबड्डी कबड्डी नेपाली चलचित्र हेर्न पाउने भएका छन् । बेलायतवासी नेपालीलाई यो चलचित्र हेर्ने अवसर पिपल मोर्गेज ग्रुपले जुराइदिएको हो । मोर्गेज साथसाथै स्टेट एजेन्टस्को रुपमा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको पिपल मोर्गेज ग्रुपले यो चलचित्रलाई बेलायतको चारवटा स्थानमा हेर्ने व्यवस्था मिलाइएको छ ।
सेप्टेम्बर २९ मा अल्टरसर्टमा पहिलो प्रदर्शन हुने उक्त चलचित्र स्वीनडनमा अक्टुबर १२ मा प्रदर्शन हुनेछ । त्यसैगरी ह्यारोमा १२ अक्टुबर र फल्कर्सटनमा १८ अक्टुबरमा प्रदर्शन गरिने आयोजक पिपल मर्गेज ग्रुपले जनाएको छ । दर्शकले आवश्यकता ठाने अन्य स्थानमा पनि चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ ।
डेढ लाख भन्दा बढी नेपाली समुदाय रहेको बेलायत नेपाली चलचित्रको दोस्रो ठूलो बजार भएको पिपल मोर्गेज ग्रुपका निर्देशक सूर्यप्रसाद गुरुङले बताए ।
नेपाली फिल्मले बेलायतमा देखाउँदा नयाँ पुस्तालाई मनोरञ्जनको माध्यमबाट भाषा, संस्कृति र मौलिकता सिक्न उपयुक्त हुने पिपल ग्रुपका कार्यक्रम संयोजक मिलन गुरुङले बताए । दर्शकको चाहनालाई ध्यानमा राखेर निर्धारित स्थानभन्दा अन्य ठाउँमा पनि चलचित्र प्रदर्शन गर्न सकिने संयोजक गुरुङले जानकारी दिए ।
दयाहाङ राई, विल्सनविक्रम राई, रिश्मा गुरुङ र उपासना सिंहले अभिनय गरेको उक्त चलचित्रले मुस्ताङ क्षेत्रको परिवेशलाई समेटेको छ । स्वजातीय विवाह र अन्तजातीय पे्रम सम्बन्धको कथामा आधारित निर्माण भएको कबड्डी फिल्मको तेस्रो सिक्वेल कबड्डी कबड्डी कबड्डी चलचित्रका निर्देशक रामबाबु गुरुङ हुन ।
प्रदर्शन हुने यो चलचित्रको मिडिया पार्टनरका रुपमा हब, नेपालीपत्र, लन्डननेपालन्यूज डटकम, अजम्बरी टिभी, गोरखा मिडियो र एभरेस्ट टाइम्स रहेका छन् ।








